काठमाडौं ।
गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाइएको छ। गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर र छिमेकी गाउँ, सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर जोड्न गाडी गुड्ने पुल बनाइएको हो।
सडकको ट्याक नै नखनिएको ठाउँमा पुल निर्माण कार्य करिब सकिएको छ। नारेश्वर हुँदै घलाङबाट सडक ट्याक खन्न सुरू गरे पनि पुल निर्माणस्थलसम्म पुगेको छैन।
सडक बन्नुअघि नै पुल बनाइएको हो। पुल निर्माणमा सिरानचोक ५ छोप्राकका स्थानीय किसानसँग कुराकानी नगरिएको पाइएको छ। यो पुल जोड्ने सडक बनाउँदा ती स्थानीयका खेत पर्छन्।
छेवैमा रहेको मध्यपहाडी लोकमार्गसँग नारेश्वरलाई जोड्न यो पुल बनाइएको थियो। तर सडकको ट्याक खन्ने कामलाई तीव्रता दिइएको छैन।
गोरखा बजारबाट सिरानचोकतर्फ जान पनि यो बाटो छोटो पर्ने थियो तर पुल बनिसक्दा पनि सडक ट्याक खोल्ने काम करिब एक किलोमिटरभन्दा धेरै नै बाँकी छ।
दरौंदीमा निर्माण गरिएको पुलको नारेश्वरतर्फ भागमा जंगल र पहरा छन् भने सिरानचोकतर्फ भने खेत छ। गण्डकी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले यो पुल बनाएको हो।
नारेश्वर घर भएका नेकपा एमालेका प्रदेश सांसद तथा यसअघिका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले यो पुलको योजना पारेर काम अघि बढाएका थिए।
दरौंदी नदीमाथि ५० मिटर लामो पुल बनाइएको छ। पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ। यो पुल निर्माणमा पाँच करोड ३९ लाख ८० हजार खर्च भएको छ। एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो।
यो पुल निर्माण गर्न २०७७ जेठमै सम्झौता भएको थियो। सम्झौताअनुसार २०७९ जेठमा पुल निर्माण सक्नुपर्ने भए पनि अझै सात प्रतिशत काम बाँकी छ।
दुई वर्षअघि देखि यस ठाउँमा उक्त पुल बनिरहे पनि स्थानीयले खासै विरोध गरेका थिएनन्। पुल बनेपछि अब सडक ट्याक निर्माण अघि बढ्ने भएपछि खेत पर्ने भन्दै स्थानीयले क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्।
‘पुल बनाउनुअघि हामीसँग छलफल गरिएन। २०/३० मुरी धान फल्ने खेत मासेर हामी कहाँ सडक बनाउन दिन्छौं र? सडक बनाउने भए खेतको क्षतिपूर्ति सरकारबाट दिलाउनुपर्छ,’ एक किसानले भने। गोरखास्थित पूर्वाधार कार्यालयले पनि पुल निर्माण कार्य सम्पन्न हुन लागेको जनाएको छ। यो पुल नजिकै झोलुंगे पुल पनि छ।
गोरखाको बाह्रकिलो-छेपेटार-चोरकाटे सडक कालोपत्र भएपछि यो झोलुंगे पुल भएर गोरखा सदरमुकाम आउजाउ गर्ने बटुवा पनि कम भएका छन्। जरेबरमा मोटरेबल पुल बनाइएको ठाउँभन्दा करिब सात किलोमिटर टाढा छेपेटारमा मात्रै पक्की पुल छ।