काठमाडौं ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार दुःखद घटना भयो । ४१ वर्षीय दिनेश पाण्डेले दुई सन्तान र पत्नीको ज्यान लिएर आफूले पनि ज्यान फालेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।
गोरखा भिमसेनथापा गाउँपालिका–६ स्थायी घर भएका दिनेश र पत्नी ३९ वर्षीया सुनिता मिलेर तारकेश्वरमा घर बनाएका थिए । उनीहरुका दुई सन्तान १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक काठमाडौंमा पढ्थे ।
छोरी सैनिक स्कुलमा पढ्थिन् । आशिकालाई लिन सोमबार बिहान पदमशालमा पुगेको सैनिक स्कुलको गाडी उनलाई नलिइ फर्केको छ । अब, आशिका कहिल्यै स्कुल जाने छैनन् ।
गोरखा धुसेनी घर भएकी सुनिता काप्री भिमसेनथापा गाउँपालिका स्थित आश्राङमा सानैदेखी जान्थिन् । आश्राङका पाण्डे उनका मावली हुन् । मामाघर जाँदा पाण्डे र सुनिता प्रेममा परे । प्रेमसम्बन्ध पछि उनीहरुले विवाह गर्ने निधो गरेका हुन् । तर, पाण्डेकै भाञ्जी भएको हुनाले परिवारले विवाह अस्वीकार गरेका थिए । परिवारले अस्वीकार गरेपनि प्रेमलाई उनीहरुले विवाहको रुप दिए ।
दुई सन्तान जन्मिए । दिनेश ११ वर्ष कुवेतमा पसिना बगाएर फर्किए । ४ वर्षअघि नेपाल आएर तारकेश्वरमा घर बनाए । परिवार ठीकठाक चल्दै थियो । तर, २०७७ माघमा सुनिताले आफुलाई तरकारी काट्ने चक्कुले हिर्काएर हत्या प्रयास गरेको भनेर दिनेशविरुद्ध प्रहरी वृत बालाजुमा उजुरी गरेपछि ‘घर झगडा’ हुन थाल्यो ।
दिनेशले सुसाइड नोटमा लेखेका छन्– ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो, मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’
झगडा बढ्दै जाँदा दिनेशले सामूहिक हत्या गरेर आत्महत्याको निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सोमबार सैनिक स्कुलको गाडी धेरैबेर रोकियो आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटर भित्र रहेको एकतले घरको ढोका खुलेन ।
झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो । दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा पल्टिरहेका ।
प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा भेटिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुन्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।