Latest News

पेट्रेलियम पदार्थको मूल्य घट्यो, यस्तो आयो नयाँ मूल्यसूची

Nepalese Times August 1, 2022 (1 Year ago)    495 Views

काठमाडौं ।

भारतले पेट्रोलियम पदार्थको भाउ घटाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटाइएको छ ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले यहाँ घटाएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।

योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गरेर पाँच वर्षमा सरकारलाई साढे छ खर्ब रुपियाँ राजस्व बुझाएको छ । निगमले आव २०७४/७५ देखि आव २०७८/७९ सम्म एक करोड ४२ लाख ४६ हजार ९५ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र ग्यास) आयात गरेर छ खर्ब ५३ अर्ब रुपियाँ राजस्व बुझाएको हो ।

सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, आयकर, वातावरण शुल्क र सडक मर्मत शुल्क शीर्षकमा राजस्व लिँदै आएको छ ।

आव २०७७/७८ मा एक खर्ब ५८ रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर पेट्रोलियम पदार्थ कारोबार गरेर ९८ अर्ब ९८ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

आव २०७६/७७ मा एक खर्ब ४५ अर्ब ९८ करोड रुपियाँको २५ लाख ९० हजार ६९३ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ६६ अर्ब ५७ करोड रुपियाँ राजस्व सङ्कलन भएको निगमको तथ्याङ्क छ ।

यस्तै आव २०७५/७६ मा एक खर्ब ९२ अर्ब ७२ करोड रुपियाँ बराबरको २९ लाख ३८ हजार ९३० किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ६५ अर्ब ९३ करोड रुपियाँ र २०७४/७५ मा एक खर्ब ५४ अर्ब ७९ करोड रुपियाँको २६ लाख ७० हजार ८८६ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ५५ अर्ब एक करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

ग्यासमा प्रतिसिलिन्डर ३२७ रुपियाँ ३७ पैसा कर रहेको छ । प्रतिलिटर पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपियाँ २३ पैसा सङ्कलन गर्दै आएको छ । त्यस्तै सडक मर्मतसम्भार शुल्क चार रुपियाँ, प्रदूषण शुल्क एक रुपियाँ २५ पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर २० रुपियाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपियाँ ८० पैसा उठाउने गरेको छ ।

यस्तै प्रतिलिटर डिजेलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपियाँ, सडक मर्मतसम्भार दुई रुपियाँ, प्रदूषण कर एक रुपियाँ ५० पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर १८ रुपियाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६३ पैसा उठाउने गर्छ ।

निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सारलगायत महसुल, प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ ।

प्रतिक्रिया दिनुहोस