Latest News

मन्त्रिपरिषद् बैठकः प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कहिले ?

Nepalese Times August 1, 2022 (2 Year ago)    343 Views

काठमाडौं ।

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले आमागी निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्न सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । निर्वाचन आयोगले मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

आगामी मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कारण कार्तिकको अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चुनाव गर्न आयोगले सुझाव दिँदै आएको छ ।

निर्वाचनको तयारी गर्न १ सय २० दिन समय चाहिने भएकोले असारको अन्तिम सातादेखि साउनको पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न आयोगले आग्रह गरे पनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । सरकारले मङ्सिरमा निर्वाचन गर्ने वा पछि सार्ने यसबारे ठोस रूपमा स्पष्ट पारेको पनि छैन ।

केही दिन अघि पत्रकार सम्मेलनमा सरकारले आगामी मङ्सिरका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोके आश्चर्य नमाने हुन्छ भनेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने पनि सरकारले त्यस्तो आश्चर्य पार्ने ढङ्गबाट निर्वाचनको मिति तोक्ने सुरसार गरेको छैन ।

आगामी मङ्सिरको पहिलो साता चुनाव गर्ने हो भने अब झन्डै १ सय ५ दिन समय बाँकी देखिन्छ । तर आयोगले चुनाव गराउनका लागि १ सय २० दिन अर्थात् ४ महिनाको समय माग्ने गरेको छ । त्यो भन्दा केही कम समयमा पनि तयारी गर्न सकिने तर त्यसका लागि कठिन हुने आयोगको भनाई छ ।

निर्वाचनको व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामग्री जम्मा देखि कर्मचारी, सुरक्षा व्यवस्थाको तयारी गर्न आयोगलाई न्यूनतम ४ महिना समय लाग्ने आयोगका अधिकारीको भनाई छ ।

आयोगले मात्र नभई प्रमुख प्रतिपक्ष दल एमालेले पनि आगामी मङ्सिरमा चुनाव गर्न सरकारलाई दबाब दिइरहेको छ । तर सरकारले चुनावको मिति घोषणा गर्ने सुरसार भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस