Latest News

माधव नेपालका यी चर्चित विश्वासपात्रलाई नै एमाले प्यारो लागेपछि एकीकृत समाजवादीमा खैलाबैला !

Nepalese Times July 29, 2022 (2 Year ago)    436 Views

काठमाडौं ।

नेकपा एमालेलाई बाहिर राखेर वाम एकता गर्ने प्रयास अघि बढेको देखिएपछि नेकपा एकीकृत समाजवादीभित्र त्यसविरुद्ध आवाज उठेको छ। वरिष्ठ नेता मुकुन्द न्यौपानेले नै त्यस्तो धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि उनको पार्टीभित्र बहस बढेको देखिन्छ।

फेसबुकमा न्यौपानेले लेखेका छन्, एमाले बाहेकको कम्युनिस्ट एकता भन्नु नेपालमा कम्युनिस्ट सिद्धाउने खेल खेल्नु हो। उनले भने, “एमाले सहितको गठबन्धन नै वामपन्थलाई अघि बढाउने अहिलेको एक मात्र बाटो हो, होइन भने वामपन्थी सिद्धिने बाटो हुन्छ।”

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले केही दिनअघि वामपन्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेको थियो । उपमहासचिव गङ्गालाल तुलाधरले सर्वसम्मतिले उक्त निर्णय गरेको तर एकीकरण हुने सम्भावना नदेखिएको बताए।

२०४६ सालको जनआन्दोलनका बेला जस्तै एउटै गठबन्धनभित्र पनि एउटा नेपाली कांग्रेस र अर्को वामपन्थीहरूबीच गठबन्धन बनाउने अवधारणा अनुसार त्यसो गर्न खोजिएको उनको भनाइ छ।

तर न्यौपाने जस्ता पुराना नेताको धारणाले पार्टीमा अर्थ राख्ने बताउँदै उनले स्थानीय निर्वाचनपछि एमालेसँग मिल्नुपर्ने मत बढेको स्वीकार गरे।तुलाधरले भने, “नेपाली कांग्रेस र माओवादी केन्द्रले हाम्रो पार्टीको सङ्गठनात्मक अस्तित्व नै नमान्ने र कम आँक्ने कुराले हाम्रो पार्टीभित्र एक प्रकारको निराशा आएकै हो।”

त्यही बुझाइले उक्त दलभित्र नेकपा एमालेसँगको सहकार्यतर्फ आकर्षित गरेको बताइन्छ। आफूहरूले उठाएका कतिपय कुरा एमाले र नेतृत्वले मानेमा त्यो बाटो खुल्ने आशासहित त्यस्ता धारणा आउने गरेको बताउँदै तुलाधरले भने, “माओवादी वा अरू पार्टीसँग एकता वा सहकार्य गर्नुभन्दा पनि एमालेसँगै एकता गरेर जाँदा उपयुक्त हुने हो कि भन्ने कुरा आएको छ।”

‘दोहोरो सर्त’

चुनावमा एमालेसँग तल्लो तहमा सहकार्य गरेको भए हुन्थ्यो किन गरिएन भन्ने पनि चर्चा उक्त पार्टीमा हुने गरेको छ। सत्ता गठबन्धनभित्र भन्दा बरु त्यो तालमेल नै अलि सम्मानजनक र सजातीय भातृत्वपूर्ण हुन्थ्यो होला भन्ने धारणा सुनिने गरेको पनि नेता तुलाधरले बताए।

एमालेसँगको सहकार्यको निम्ति आत्मालोचना लगायतका विभिन्न कुराहरू स्वीकार गर्नुपर्ने एकीकृत समाजवादीका नेता झलनाथ खनालले  बताएका छन्। त्यो अवस्थामा चुनावी तालमेलको निम्ति कुरा गर्ने ढोका खुल्न सक्ने उनको भनाइ छ।

तर एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कांग्रेससँग चुनावमा सीट मोलमोलाइ गर्न समाजवादी केन्द्र बनाउने चर्चा चलाइएको बुझाइ सुनाए र भने, “कांग्रेससँग उहाँहरूको गठबन्धन कायम रहँदासम्म वामपन्थी गठबन्धन वा एमालेसँगको एकता सम्भव हुन्न।”

आफ्नै कार्यकर्तालाई प्रश्न
उनका भनाइमा माधव नेपालको पार्टीले कांग्रेसलाई बलियो बनाएर भएपनि एमालेलाई कमजोर बनाउने गलत कार्यनीति बोकेको छ र त्यो नै सहकार्यको बाधक हो। नेपालकै दलका वरिष्ठ नेता न्यौपानेले पनि कम्युनिस्ट पार्टीहरू सत्ताको मोहमा छटपटीमा परेको टिप्पणी गर्दै कसरी एमालेलाई कमजोर पार्ने र कुर्सी आफ्नो हातमा सार्ने कुरा मात्रै केन्द्रमा राखेको आरोप लगाएका छन्।

केपी ओलीविरुद्ध माधव नेपालले लगाए १० गम्भीर आरोप
माधवकुमार नेपालका पूर्व पक्षधरहरू भन्छन्, ‘दल विभाजनमा प्रमुख जिम्मेवारी ओलीको, नेपालको पनि कमजोरी’
उनले आफ्नो दलका कार्यकर्ताहरू सामु प्रश्न अघि सारेका छन्, “यति मात्र एजेन्डा दिमागमा नाचिरहेकाले एमाले बाहेकको समाजवादी केन्द्र निर्माणमा लागेकाहरूको सपना-जपना यही छ। इमानदार कार्यकर्ताले के बुझ्नु जरुरी छ भने यो भनाइको पछाडि कुन सिद्धान्त, कुन विचार र कुन शक्तिले काम गरेको छ?”

पानी बाराबारको अवस्थामा रहेका एमाले र एकीकृत समाजवादीका नेताहरूकै यस्ता मत सार्वजनिक हुनुलाई अब उनीहरूबीच संवादको वातावरण बन्दै जाने सङ्केत ठानिएको छ।

जानकारहरूका अनुसार हालसालै माधव नेपालले एमालेबाट धेरै आलोचना नभएकाले आफू पनि कडा रूपमा प्रस्तुत नहुने आशयको अभिव्यक्ति दिनु उनको दलभित्र एमालेसँगको सहकार्यको पक्षमा दबाव बढ्दै गएको परिणाम हो। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस