काठमाडौं।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार दिउँसो बालुवाटारमा देउवा र लुबीच भेट भएको थियो। बिहीबार नेपाल आएका उनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
भेटका क्रममा नेपाल-अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी दिएका छन्।
‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च तहको आर्थिक संलग्नताका हुनुपर्ने बताएँ,’ देउवाले ट्विट गर्दै भनेका छन्। यसअघि लुले आजै परराष्ट्र मन्त्री नारायण खड्कालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेका थिए।
पछिल्लो समय अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे नेपालमा बहस जारी भइरहेका बेला आएका लुको भ्रमणबारे विभिन्न कोणबाट कुरा भइरहेका छन्।
नेपाल भ्रमणमा रहेका सहायक विदेश मन्त्री लुले भने यसपालि भ्रमणमा आफ्नो प्रेमबारे खुलासा गरेका छन् । सामाजिक सञ्जालमा अमेरिकी दूतावासले पोष्ट गरेको भिडिओमा सहायक मन्त्री लुले आफ्नो प्रेमबारे वर्णन गरेका छन्।
यसअघि गत मंसिरमा नेपाल आउँदा पनि लुले संवाददाताहरूसँग आफ्नो प्रेमको प्रसंग उप्काएका थिए। सन् १९९३ मा लु पहिलो पटक नेपाल आएका रहेछन्। अमेरिकाको कूटनीतिक सेवामा भर्खरै प्रवेश गरेका लुको पोष्टिङ त्यतिबेला पाकिस्तानको पेशावरमा थियो। उनी घुमघामका लागि भारतको दार्जिलिङबाट नेपाल आए।
उनले भने, ‘भारतको सीमा काटेर आएपछि हामी सार्वजनिक बसमा चढ्यौं। त्यतिबेला म एकजना केटी साथीसँग आएको थिएँ। नेपाल आउँदासम्म हामी डेटिङ गइसकेका थिएनौं । बस चढेर हामी जनकपुर, सौराहा गयौं। बाँकी नेपाल घुम्दाघुम्दै हाम्रो माया बस्यो। अहिले हामी पति–पत्नी भएका छौं।’
अमेरिकाको विदेश मन्त्रालयमा प्रवेश गरेको एक वर्षमै नेपाल आएका लु दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेश मन्त्री नियुक्त भएको दुई महिना नपुग्दै काठमाडौं आएका थिए।
‘१९९३ मा आउँदा मलाई नेपाल निकै धनी लागेको थियो। कला, संस्कृति, प्राकृतिक सम्पदाले नेपाल निकै धनी छ। यो धेरै सम्भावना भएको देश हो भन्ने मलाई लाग्छ,’ सहायक विदेश मन्त्री लुले भनेका थिए।
चिनियाँ मूलका बुवा र अमेरिकी आमाका सन्तान लुले पाकिस्तानपछि भारतको नयाँ दिल्लीमा दुई पटक गरेर ६ वर्ष बिताए। भारतमा बस्दा उनले दक्षिण एसियाको भू(राजनीतिसँगै यहाँको कला, संस्कृति र सभ्यता चिन्ने मौका पाए। यो क्षेत्रमा भारतको प्रभाव पनि महशुस गरे। ‘‘नेपाल सधैँ मेरो मुटुको नजिक रहने ठाउँ हो किनकी म पहिलो पटक प्रेममा परेको यहीँ हो,’ लुले भनेका छन्।