Latest News

अन्ततः प्रधानमन्त्री देउवाले डडेलधुराबाट चुनाव नलड्ने, तोकियो अर्कै निर्वाचन क्षेत्र !

Nepalese Times July 28, 2022 (2 Year ago)    744 Views

काठमाडौं ।

अबको केही दिनमै संसदीय चुनावको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् । यो पटक संसदीय दलको चुनावको मिति घोषणा नहुँदै उम्मेदवरी घोषणाको क्रम सुरु भईसकेको छ ।

सबैको चासोको रुपमा हेरिएको प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा को–कोले उम्मेदवारी देलान् ? भन्ने कौतुहल बढिरहेको समयमा एउटा खबर बाहिरिएको छ ।

आफ्नो राजनीतिक जीवनमा कुनै पनि संसदीय निर्वाचन नहारेका नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक डडेलधुराबाट चुनाव नलड्ने मनस्थिति बनाएका छन् ।

निकटस्थहरुले देउवालाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाएका छन् । प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेल्धुराबाटै निर्वाचित भएका थिए । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ सहित डडेल्धुराबाट समेत देउवा निर्वाचित भएका थिए ।

यसपटक डडेल्धुराको राजनीतिक वातावरण र देउवाको मनस्थिति दुवै बदलिएको र निकटस्थसँगै ‘इन्टेलिजेन्स’ ले पनि डडेल्धुराबाट चुनाव नलड्न सुझाव दिएको बताइन्छ ।

जिल्लाभरको परिणाममा सत्तारुढ गठबन्धनको पकड देखिए पनि डडेल्धुराभन्दा बलियो क्षेत्र खोज्न देउवालाई निकटस्थहरुले सुझाव दिएका छन् ।

प्रारम्भमा डडेल्धुरा छाड्नेबारे सुन्नै नचाहेका प्रधानमन्त्री देउवाले अहिले भने उपयुक्त विकल्पबारे चासो राख्न थालेका उनी निकट एकजना कांग्रेस नेताले बताए ।

‘राजनीतिक सन्देश गलत नजाने गरी के उपाय होला भनेर प्रधानमन्त्रीले पनि चासो राखेका र सुदूरपश्चिमकै केही क्षेत्रबारे कुरा भएको देउवा निकट स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले कञ्चनपुर ३ को सम्भावनाबारे पनि छलफल गरेका छन् । गत संसदीय निर्वाचनमा सुदूरपश्चिममा डडेल्धुरामात्रै कांग्रेसले प्रत्यक्षमा जितेको थियो ।

त्यसबाहेक सबैभन्दा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्र कञ्चनपुर ३ हो । जहाँ कांग्रेसका रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका भट्टले २६ हजार ३६४ मत ल्याउँदा कांग्रेसका लेखकले २६ हजार १०६ मत पाएका थिए ।

डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ललगायतले विद्रोह गरेका कारण संसदीय निर्वाचनमा देउवालाई असर पर्ने धेरैको आँकलन छ । मल्लले देउवाविरुद्ध आफ्नो उम्मेदवारी पर्ने बताइसकेका छन् । नेपाली कांग्रेस बीपीका तर्फबाट मल्ल उम्मेदवार भए एमालेले समर्थन जनाउने सम्भावना उत्तिकै छ ।

यही कारण डडेल्धुराभन्दा सुरक्षित क्षेत्र कञ्चनपुर ३ लाई मानिएको छ । साविक कञ्चनपुर ४ को अधिकांश क्षेत्र समेटिएको सो क्षेत्रबाटै २०६४ को संविधानसभा निर्वाचनमा देउवा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस