काठमाडौं ।
अन्ततः काठमाडौं महानगरपालिकाले आफ्नै पैसा खर्च गरेर कलाकार यम बुद्धको सालिकसहितको पार्क बनाउने निर्णय गरेको छ । महानगरले सालिक र पार्क निर्माण गर्नका लागि साढे एक करोड बजेट विनियोजनसमेत गरेको पाइएको छ ।
र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका १६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रवक्ताका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो ।
‘उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने छन् । अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्’ प्रवक्ता मानन्धरले भने ।
यसअघि यम बुद्धको सालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त निर्णयले महानगर विवादितसमेत बनेको थियो । पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।
यम बुद्ध नेपालका चर्चित र्यापर थिए । उनले केही वर्षअघि बेलायतको लन्डनमा आत्महत्या गरेका थिए ।
त्यस्तै, महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९र ८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ ।
यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ । जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ । ८ पुस, २०७८मा ततकालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाकामा हस्तान्तरण गरेको थियो ।
प्राधिकरणको अगुवाइमा पुनर्निर्मित रानीपोखरी आफ्नै कार्यकालमा महानगरको स्वामित्वमा फर्किएपनि शहरी विकास तथा भवन निर्माण विभागले केही बाँकी काम अझै गरिरहेको छ ।
१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको रानीपोखरी पुनर्निर्माणको २ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् भने पुनर्निर्माणको जिम्मा सुरूमा महानगरले पाएको थियो । तर आफूखुशी कंक्रिट संरचना बनाउन खोजेपछि प्राधिकरणले बनाएर हस्तान्तरण गरेको हो ।