Latest News

‘कांग्रेससँग बार्गेनिङ गर्न वाम गठबन्धनको चर्चा सुरुभएको छ, माओवादीले भनेजस्तो सिट बाँडफाँड हुँदैन’

Nepalese Times July 27, 2022 (2 Year ago)    360 Views

वीरगञ्ज ।

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले माओवादी केन्द्रले भनेजस्तो सिट बाँडफाँड नहुँने बताएका छन् । कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको भन्दै उनले माओवादीले भने अनुसारको सिट बाँडफाँड हुन नसक्ने बताए ।

सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला कोइरालाको यस्तो धारणा सार्वजनिक भएको हो ।

नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि मात्रै भएको बताए ।

उनले भने, ‘हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज (ठूलो) पार्टी हो ।’ संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले बताए ।

प्रदेश र संघको निर्वाचनमा होमिएको भन्दै उनले कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको बताए । तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ज्ञारेन्टी हुनुपर्ने कोइरालाले बताए । तालमेलका लागि उनले तीन शर्त राखे ।

पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ ।

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए । ‘सिट बाँडफाँट कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’ उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

गिरीजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनले बताए । प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दा देखिएको कमजोरी दोहोरिन नहुने कोइरालाको भनाइ थियो ।

कांग्रेस भित्रको गुटगत राजनीति गर्दा पार्टी कमजोर भइरहेको भन्ने पत्रकारको जिज्ञासामा उनले वैचारिक राजनीतिमा फरक धारणा आउनु सामान्य भएको बताउँदै कम्युनिष्ट, जसपा लगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस