Latest News

रेखा थापालाई रवि लामिछानेले गरे पार्टी प्रवेशको निम्तो, के गर्लिन् रेखा ?

Nepalese Times July 27, 2022 (2 Year ago)    288 Views

काठमाडौं ।

संचारकर्म छाडेर राजनीतिमा होमिएका चर्चित पत्रकार रवि लामिछाने यतिबेला देश दौडाहमा रहेका छन् ।

निर्वाचन आयोगमा घण्टी चुनाव चिन्ह राखेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रविले अहिले देशका विभिन्न ठाउँहरुमा भेला आयोजना गर्ने र त्यहाँ सहभागी हुने गरिरहेका छन् ।

अहिले उनी पार्टी निर्माणका लागि पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँहरुमा हुने भेलाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी गठनको औचित्यबारे प्रष्ट पारिरहेका छन् ।

संसद पालिकाजस्तो नभएकोले समानुपातिक भोटको पनि ठूलो महत्व हुने र बहुमत ल्याउन सकियो भने मात्रै संसदमा निर्णायक भूमिकामा रहन सक्ने निचोडसहित आफूहरुले पार्टी गठन गर्नुपरेको रविको प्रस्टोक्ति छ ।

रवि लामिछानेको देश दौडाह सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नेहरुको जमात पनि बढिरहेको छ । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का विभाग प्रमुख ज्वाला संगौला राष्ट्रिय स्वतन्त्र पार्टीतिर लागेकी थिइन् ।

यसैक्रममा राप्रपाकी नेतृ रेखा थापालाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशको निम्तो आएको छ । सो पार्टीका संयोजक लामिछानेले रेखा थापालाई पार्टी प्रवेशका लागि विभिन्न व्यक्तिहरुमार्फत कुरा पठाइरहेका स्रोतले जनाउको छ ।

तर, रेखा थापाले भने यसबारे केही जवाफ दिएकी छैनन् । उनी राप्रपा प्रवेश गर्नुभन्दा अघि पुष्पकमल दाहाल नेतृत्वमा नेकपा माओवादीमा रहेकी थिइन् । राप्रपामा उनले महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् । तर उनले पराजय भोग्नुपर्यो ।

यस्तै नायिकासमेत रहेकी राप्रपा नेतृ थापाले आफूले संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । तर, अहिले नै निर्वाचन क्षेत्रको टुंगो भने लागिनसकेको उनको भनाइ छ । पार्टीले दिएको निर्देशन अनुसार आफूले उम्मेदवारी दिने उनको तयारी छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–२ र काठमाडौं ४ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट आफूले उम्मेदवारी दिने प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई केहीले जाजरकोटबाट उम्मेदवारी दिन आग्रह गरेकोसमेत खुलाएकी छिन् ।

मुलुकलाई चिनाउने हिन्दु राष्ट्र हुँदा कसैलाई पाप नलाग्ने भन्दै उनले राजाले आफू फर्कन चाहेको र जनताले चाहेको खण्डमा मात्रै नेपालमा राजतन्त्र फर्कने नत्र भने सम्भव नहुने बताएकी छिन् ।

राजा ल्याउने कुरा राप्रपाले भनेर मात्रै नहुँने र एउटा पार्टीले राजतन्त्र ल्याउँछु भन्नु बेबकुफ कुरा भएको भन्दै उनले सबैले चाहना गरेमा राजतन्त्र आउने बताइन् ।

प्रतिक्रिया दिनुहोस