Latest News

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

Nepalese Times July 26, 2022 (2 Year ago)    364 Views

काठमाडौं ।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ९५ करोड रुपियाँ बराबरको अनुदान स्वीकार गर्नेलगायत निर्णय गरेका सरकारका प्रवक्ता एवम् संचारमन्त्री कार्कीले बताए ।

यस्तै अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो।

विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लागेका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका हुन् । २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान, चिनो, रुमाल जस्ता चर्चित चलचित्रमा अभिनय गरे ।

“म जागिर खानको लागि आएको होइन, चलचित्र क्षेत्रलाई जीवन्त दिने कोसिसमा आएको हुँ,” उनी भन्छन्, “चलचित्र क्षेत्रको एकदमै अपार सम्भावना छ, हामीसँग धेरै प्रतिभा र सिर्जना छन्। यसको संरक्षण र प्रवद्र्धन गर्ने काम संस्थागत रुपमा चलचित्र विकास बोर्डले गर्छ।”

यस्तै, नेपालको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभिनेता केसीको लक्ष्य छ। त्यसै अनुरुप कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ। केसीले आफूप्रति सद्भाव देखाउने माया गर्ने सम्पूर्ण मान्यजन र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।

काठमाडौंको सिनामंगलमा जन्मिनुभएका उहाँलाई कलाकार बन्नेबाहेक अरु रहर नै थिएन। १० वर्षको उमेरमै बाल कलाकारको रुपमा केसी रेडियो नेपालमा गीत गाउँथे । यहाँबाट केसीको कला यात्रा सुरु भएको हो। उनले रेडियो नेपालमा गाएको पहिलो गीत हो, ‘मादल बज्यो घिन्ताङ तालैमा’।

उनले जीवनका तीतामिठा सबै पल चलचित्र क्षेत्रमै बिताएका छन् । उनी भन्छन्, “मैले एक सय वटा भन्दा बढी चलचित्रमा अभिनय गरेको छु। मैले अभिनय गरेका अधिकांश चलचित्र सुपर हिट भएका छन्, जुन हामी नेपालीको लागि गर्वको विषय हो।”

नेपालको पहिलो म्युजिक भिडियो खेल्ने अभिनेताको रुपमा पनि केसी परिचित छन् । जसको गायक र अभिनेता उहाँ नै हुनुहुन्छ। ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीत उहाँको पहिलो म्युजिक भिडियो हो। नेपाली सिनेमालाई विदेशमा पनि फैलाउने केसीकै पहिलो प्रयास थियो। उहाँ आफैंले निर्माण गर्नुभएको चलचित्र करोडपति अमेरिका, जापान, स्वीट्जरल्याण्ड, जर्मनी, फ्रान्समा प्रदर्शन गरिएको थियो।

यस्तै, केसी ‘बेस्ट एक्टर’, ‘बेस्ट फिल्म मेकर’ जस्ता कयौं पुरस्कारबाट सम्मानित भएका छन् । बाल कलाकार, अभिनेतादेखि निर्मातासम्मको यात्रामा धरै कुरा सिक्ने मौका मिलेको केसी बताउँछन् । केसीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो।

जीवनको अन्तिम समयसम्म चलचित्र क्षेत्रमै लाग्ने केसी बताउनुहुन्छ। यसबाहेक, नेपालको कला, संस्कृति, भेषभुसा र पर्यटनलाई बढाउने उद्देश्यसहित विकास बोर्डको यात्रा सुरुभएको उनको भनाइ छ। विकास बोर्डमा आवेदन दिनुभएका सम्पूर्णको मनोभावनालाई समेटेर, सम्पूर्ण नेपाली जनता, चलचित्रकर्मी, कलाकर्मी भावनालाई सम्झेर अगाडि बढ्ने उनले बताए ।

विकास बोर्डले केहीदिन अघि अध्यक्ष पदका लागि १० जनाको सूची सार्वजनिक गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो। १० जनामध्येबाट सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस