Latest News

‘कृष्णबहादुर महरा’ काण्ड मच्चाउने रोशनी शाहीले पशुपतिनाथ पुगेर फेरि मच्चाईन् अर्को काण्ड

Nepalese Times July 26, 2022 (2 Year ago)    496 Views

काठमाडौं ।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाहीले फेरि ध्यान खिचेकी छिन् । यसपटक उनी पशुपतिनाथ क्षेत्रमा अतिरुद्र महायज्ञ मा सक्रिय सिद्धबाबाविरुद्ध नारावाजी गर्न पुगिन् ।

महायज्ञस्थलमै पुगेर शाहीले सिद्धबाबालाई ‘बलात्कारी’ भन्दै नारावाजी गरिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशनी शाही गौशाला प्रहरीवृत्तमा पुर्याइन् ।

सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध सुनसरी जिल्ला अदालतमा बलात्कारको आरोपको मुद्दा दर्ता भएको थियो । मुद्दा विचाराधीन छ । उनीमाथि एकजना महिलाले बलात्कारको आरोप लगाएकी थिइन् ।

बलात्कार अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई उन्मुक्ति दिने सुनसरी जिल्ला अदालतको फैसलामा उच्च अदालत विराटनगरले गम्भीर त्रुटि औँल्याएको छ । जिल्ला अदालतले गैरन्यायिक शैलीमा फैसला गरेको भन्दै उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै मुद्दा सुरुदेखि हेर्न पनि आदेश गरेको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले २२ मंसिर ०७७ मा एकपक्षीय बहस सुनेको भरमा सफाइ दिएका थिए ।

सिद्धबाबालाई उन्मुक्ति दिने सुनसरी जिल्ला अदालतको यो फैसला त्रुटिपूर्ण रहेको ठहर गर्दै उच्च अदालत विराटनगरले जिल्लाको फैसला उल्ट्याएको छ । ३ जेठ ०७९ मा विराटनगर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसला प्रमाण ऐनविपरीत भएको ठहर गरेको छ ।

सुनसरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश कोइरालाले पीडित पक्षका कानुन व्यवसायीको कुरै नसुनेर सिद्धबाबालाई सफाइ दिएका थिए । सिद्धबाबाविरुद्ध परेको मुद्दाको मिसिल सर्वोच्च अदालतमा पुगेको भन्दै सरकारी वकिल पक्षले २२ मंसिरको पेसी स्थगित गर्न अदालतमा निवेदन पनि दिएको थियो । तर, न्यायाधीश कोइरालाले भने त्यही मौका छोपेर सिद्धबाबा पक्षको मात्र बहस सुनेर उनलाई सफाइ दिए ।

सिद्धबाबा र अनुयायीबीच सहमतिमै यौन सम्बन्ध रहेको तर्क गर्दै न्यायाधीश कोइरालाले बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबालाई ‘शरीर समर्पण’ गरेको व्याख्या गर्दै सिद्धबाबा निर्दोष रहेको ठहर गरेका थिए ।

७६ पेज लामो फैसलामा न्यायाधीश कोइरालाले पीडित महिलाले नै यौन सम्बन्धका लागि सिद्धबाबालाई उक्साएको प्रमाणित गर्ने प्रयास गरे । यसका लागि उनले पीडित महिलाले पठाएको भनिएको म्यासेजको सहारा लिएका थिए । तर, उच्च अदालतले भने जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिन लिएका आधारमाथि नै प्रश्न उठाएको छ ।

पीडित र सिद्धबाबाबीचको यौन सम्बन्ध तथा म्यासेजमा भएको कुराकानीका बारेमा पीडितका श्रीमान्‌ले थाहा पाएपछि मात्र जबर्जस्ती करणीको जाहेरी दिएको बताउँदै न्यायाधीश कोइरालाले सिद्धबाबालाई सफाइ दिए ।

तर, न्यायाधीश कोइरालाले सिद्धबाबालाई सफाइ दिन लिएका आधार नै कानुनविपरीत रहेको बताउँदै उच्च अदालतले सिद्धबाबाको मुद्दा फेरि जिल्ला अदालत फर्काइदिएको छ । पीडित पक्षका साक्षीको कुरा नसुनेर न्याय निरुपणको आधारभूत प्रमाण नबुझीकनै फैसला गरेको भन्दै उच्च अदालतले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।

सिद्धबाबाले कसुर स्वीकार गर्दै माफी मागेको अडियो जाँच गर्ने जाँचकीको बकपत्र नगराएर जिल्ला अदालतले प्रमाण ऐन २०३१ मिचेको पनि उच्च अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस