Latest News

भारतपछि प्रचण्ड किन जाँदैछन् जापान ?

Nepalese Times July 26, 2022 (2 Year ago)    503 Views

काठमाडौँ –

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ५ दिने भ्रमणमा जापान जानेभएका छन् । चार सदस्यीय भ्रमणदल सहित आउँदो साउन २१ उनी टोकियो पुग्ने कार्यक्रम रहेको छ ।

नेपाल-जापानबीच रहीआएको सुमधुर सम्बन्धले थप उचाई हासिल गर्ने अपेक्षा गरिएको पूर्वप्रधानमन्त्री प्रचण्डको उक्त भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

नेपालमा वैदेशिक लगानीको वातावरण निर्माण गर्न र नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ उनको जापान भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

प्रचण्डको जापान भ्रमण बारे धेरै पहिलेदेखि चर्चा चल्दै आएको भएता पनि अनुकुल नपरेकोले यसपटक मात्र जापान भ्रमणको तय भएको उनका स्वकीय सचिव रमेश मल्लले बताए । उनको जापान भ्रमण पहिलोचोटी हुन लागेको हो ।

भ्रमणका क्रममा प्रचण्डले जापानका उच्चस्तरिय राजनैतिक नेता तथा अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ भने उनले नेपाली समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

जसअनुसार नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा अगष्ट ७ तारिख (साउन २२ गते) आईतबार हुन लागेको कार्यक्रममा प्रचण्डले जापानबासी नेपालीहरुसंग अन्तरक्रिया गर्ने भएको छ । ’समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।

मञ्चले दिएको जानकारी अनुसार उक्त कार्यक्रम टोकियोको खामेइदोस्थित कल्चर सेन्टरमा साँझ ५:३० बजेदेखि हुने भएको छ ।

यसैगरी प्रचण्डको गृहजिल्ला चितवन रहेको र उनी त्यहिबाट प्रतिनिधी सभामा निर्वाचित भएको हुँदा चितवन समाज जापानले पनि प्रचण्डसंग भेटघाट कार्यक्रम गर्ने भएको छ । त्यसका लागि आवश्यक तयारीमा लागिएको चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले बताए ।

भ्रमणका क्रममा प्रचण्डले जापानका विभिन्न ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रहरुको पनि अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

कोभिडको लामो सकस, मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम लगायतका कारण जापान र नेपालबीच लामो समय यता उच्चस्तरिय भ्रमण हुन नसकेको सन्दर्भमा नेपालका पूर्वप्रधानमन्त्री तथा १० वर्षे जनयुद्धका सर्बोच्च कमाण्डर नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको हुन लागेको जापान भ्रमणले बहुआयामिक अर्थ राख्ने जानकारहरु बताउँछन् । विगत केही दशक यता नेपालको राजनीतिमा सँधै केन्द्रमा रहँदै आएका प्रचण्ड पछिल्लो समयमा समाजवादी धारका वामपन्थी पार्टीहरुबीच हाललाई कार्यगत एकता गर्ने र उपयुक्त समयमा एकिकृत पार्टी निर्माण गर्ने कसरतमा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस