काठमाडौं ।
प्रधानमन्त्री देउवामाथि आज पनि एक हुल मानिसहरु खनिएका छन् । नागरिकता विधेयक खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा एक हुलले नाराबाजी गरेको छ।
सोमबार कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा नागरिकता विधेयक खारेज गर, एमसीसी मुर्दाबाद,देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौं भन्दै होहल्ला भएको छ।
उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरे। कार्यक्रम स्थलमा नाराबाजी हुन थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्य स्थानसम्म पुर्याएका छन्।
अहिले प्रधानमन्त्री देउवा कार्यक्रमलाई सम्बोधन गरिरहेका छन्। प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।
यस्तै स्वतन्त्र नागरिक समाजले नागरिकता विद्येयकको विरोध गर्दै आज प्रदर्शन गरेको छ। सिर्जना वाग्ले र सन्तोष राजवादीको नेतृत्वमा लाजिम्पाटस्थित् भारतीय दूतावास आसपासको मुख्य सडकमा उनीहरुले पुत्लादहन गरेका थिए ।
संसद्बाट पारित भएको उक्त विद्येयक देशको हितमा नभएको भन्दै प्रदर्शनकारीहरुले आज राँको जुलुश र पुत्लादहन गरेका हुन् । सो क्रममा उनीहरुले भारतको विरोधमा नाराबाजीसमेत गरेका थिए । पुत्लादहनमा नागरिक समाजका एक दर्जन व्यक्तिहरु सहभागी थिए ।
यस्तै नागरिकता ऐन संसोधन विधेयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज र पोखरियामा प्रदर्शन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानसहितको प्रावधान विधेयकमा छ ।
यसले सदियौंदेखि सीमा क्षेत्रमा विद्यमान सामाजिक सांस्कृतिक सम्बन्धमा समस्या ल्याउने उनीहरुको ठहर छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुले गरेका छन् ।