काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवम् कलाकार रेखा थापाले पनि उम्मेदवारी घोषणा गरेकी छिन् ।
आसन्न प्रतिनिधिसभा चुनावमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताएकी छिन् । तर, अहिले नै निर्वाचन क्षेत्रको टुंगो भने लागिनसकेको उनको भनाइ छ । पार्टीले दिएको निर्देशन अनुसार आफूले उम्मेदवारी दिने उनको तयारी छ ।
उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–२ र काठमाडौं ४ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट आफूले उम्मेदवारी दिने प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई केहीले जाजरकोटबाट उम्मेदवारी दिन आग्रह गरेकोसमेत खुलाएकी छिन् ।
मुलुकलाई चिनाउने हिन्दु राष्ट्र हुँदा कसैलाई पाप नलाग्ने भन्दै उनले राजाले आफू फर्कन चाहेको र जनताले चाहेको खण्डमा नेपालमा राजतन्त्र फर्कने बताइन् ।
राजा ल्याउने कुरा राप्रपाले भनेर मात्रै नहुँने र एउटा पार्टीले राजतन्त्र ल्याउँछु भन्नु बेबकुफ कुरा भएको भन्दै उनले सबैले चाहना गरेमा राजतन्त्र आउने बताइन् ।
यस्तै उनले नेपालले संघियता धान्न नसक्ने भएकोले यो खारेज गर्नुपर्ने बताइन् । आफू गणतन्त्रको पक्षधर हुँदासमेत यो विषय उठाइरहेको भन्दै उनले संघीयताले खर्च मात्रै बढाइरहेको बताइन् ।
यस्तै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने र राप्रपाले यहि विषय उठान गरेको बताइन् ।
यस्तै राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ। काठमाडौंमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।
राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ। ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ,’ केन्द्रीय समितिले गरेको निर्णयको २ नम्बरमा यो बुँदा उल्लेख छ।
यस्तै राप्रपाले जनजीविकाका सवाल तथा राष्ट्रियतालगायत विषयमा साउन महिनाभित्र सञ्चालन गर्ने आन्दोलनका कार्यक्रम ल्याउने पनि बताएको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समितिले एसिपिपी फिर्ता पठाउने सरकारको निर्णय अझै पनि कार्यान्वयनमा नआएको र अमेरिकालाई पत्र नपठाइएकोमा ध्यानाकर्षसमेत गरेको छ।