बुटवल –
लुम्बिनी प्रदेश सरकारले मन्त्री हेरफेरको तयारी गरेको छ । पूर्व सहमति अनुसार मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्री हेरफेरको तयारी गरेका हुन् ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा एसका मन्त्री भने तत्काल हट्ने सम्भावना नरहेको स्रोतले जानकारी दियो ।
गत साउन २६ गते माओवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री कुलप्रसाद केसी र कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाबीच आधा/आधा सरकार चलाउने सहमति भएको थियो ।
सहमतिअनुसार गत फागुनमै मुख्यमन्त्री केसीले सत्ता हस्तान्तरण गर्नुपर्ने थियाे । तर विभिन्न कारण देखाउँदै उनले सत्ता हस्तान्तरण गरेका थिएनन् ।
मुख्यमन्त्री नै फेर्नेगरी सहमति भएपनि तत्कालका लागि मन्त्री मात्रै फेर्ने तयारी भइरहेको माओवादीका एक नेताले पुष्टि गरे । मुख्यमन्त्री फेर्ने विषयमा लिखित सहमति नै भएपनि सत्ता गठबन्धनका शीर्ष नेताबीच उक्त विषयमा सहमति जुट्न सकेको छैन ।
केही दिनभित्रै कांग्रेसले पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने र नयाँ अनुहार सरकारमा पठाउने नेता कनौडियाले जानकारी दिए ।
यद्यपि सबै मन्त्रीलाई फिर्ता बोलाउने या केहीलाई मात्रै हेरफेर गर्ने भन्ने टुंगो लागिनसकेको उनले बताए । लुम्बिनीमा १७ जना मन्त्री रहेकोमा विमलाकुमारी वली खत्रीले राजीनामा दिएपछि १६ जना बाँकी छन् ।
नयाँ मन्त्री बन्नेको लाइनमा नेपाली कांग्रेसबाट फकुरुद्दिन खान, निर्मला क्षेत्री, बैजनाथ कलवार, रमा अर्याल, भुवनेश्वर चौधरीले दौडधुप थालेका छन् । अहिले रहेका मन्त्रीमध्ये डिल्ली चौधरीबाहेक सबैलाई फेर्ने तयारीमा कांग्रेस रहेको छ ।
यसैगरी माओवादी केन्द्रबाट यसअघि मन्त्री भइसकेका सुदर्शन बराल, सांसदहरू दामा शर्मा, तुलाराम घर्ती बसन्त, दिपेन्द्र पुनमध्येबाट मन्त्री बनाउने तयारी भइरहेको छ । सरकारले मन्त्रिमण्डल पुनर्गठन गरे उनीहरु पाँच महिनाका लागि मात्र मन्त्री हुनेछन् ।