काठमाडौं –
नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कारबाही हुनुपर्ने बताएका छन्।
एमालेको अर्थ विभागका सदस्य एम अधिकारीबारे सांसद्हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै बस्नेतले देउवा र प्रचण्डमाथि कारबाही हुनुपर्ने बताएका हुन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र? भन्दै प्रश्न गरे।
पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई ‘जी शर्मा’ भनेर सम्बोधन गरेका बस्नेतले शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए। बजेटमा रातारात सेटिङ गर्ने, भन्सारको दररेट फरक पार्ने, सीसीटीभीका प्रमाण नष्ट पार्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढ गर्ने जी शर्माको समेत खोजी गरेर कारबाही हुनुपर्ने बस्नेतको भनाइ थियो।
पेट्रोलियम पदार्थको भाउ, कालो बजारी, महंगीलाई प्रत्सोहन गर्ने डी बडूलाई समेत कारबाही गरिनुपर्ने बस्नेतको भनाइ छ।
यस्तो छ सांसद बस्नेतको भनाई
केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ?
बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने र ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र ? पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ?
प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरुद्ध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारवाही गर्नुपर्दैन र ? एमसीसी पास गरेर व्याख्यात्मक टिप्पणी गर्ने एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्का लगायतलाई कारवाही गर्नुपर्ने हैन र ?