काठमाडौं ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईबीचको भेटवार्ता सकिएको छ ।
भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका नेता भट्टराईलाई पार्टी एकताको प्रस्ताव अघि सारेका छन् ।
बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा भएको भेटमा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरेर नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् ।
अध्यक्ष प्रचण्डको प्रस्ताव थियो, ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ ।’
भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।
केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि भट्टराईसँग भेट भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताएका छन् ।
यसअघि उनीहरुबीच गत मंगलबार सिंहदरबार स्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।