Latest News

प्रचण्ड र नारायणकाजीबीचको भेटवार्ता सकियो, के–के भयो कुराकानी ?

Nepalese Times July 20, 2022 (2 Year ago)    516 Views

काठमाडौं । ्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता सकिएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा उनीहरुबीच छलफल भएको हो । अध्यक्षलाई भेट्न नेता श्रेष्ठ साढे ४ बजे खुमलटार पुगेका थिए ।

त्यसपछि झण्डै डेढ घण्टासम्म भएको लामो वार्तालापछि श्रेष्ठ बाहिरिएका हुन् । अध्यक्ष दाहाल भारत भ्रमणबाट फर्केपछि नेता श्रेष्ठले छुट्टै भेटवार्ता गरेको यो दोस्रो पटक हो ।

यस्तै राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक भइरहेको भेटको भने विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच गत असार १९ गते पहिलोपटक छलफल भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।

उनीहरुबीच गत मंगलबार बेलुका फेरि सिंहदरबारमा छलफल भयो । भेटघाटको कडीका रुपमा वामदेव गौतम सक्रिय छन् । उनले तत्कालीन नेकपालाई जोड्ने भन्दै एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेर आग्रहसमेत गरेका थिए । तत्कालीन नेकपा जोड्ने विषयमा ओली अनिच्छुक भएपछि प्रचण्ड, माधव सहित यी पाँच जनाबीच शृङ्खलाबद्ध छलफल चल्दै आएको छ ।

यी पाँच भाइको बैठकलाई सबैभन्दा कठोर टिप्पणी एमालेले गरेको छ । नेपाली काँग्रेससँग प्रदेश र संघको चुनावमा बार्गेनिङ गर्न उनीहरु छलफलमा बसेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यको बैठक बसेको फोटो देखाएर काँग्रेससँग बढीभन्दा बढी सीट लिने प्रचण्ड–माधवको बार्गेनिङ कार्ड हो । वामदेवजीलाई कहीँ न कहीँबाट एक सीट जितेर आउनु छ,’ भट्टराईले भने, ‘संसदमा कसैको बहुमत नहोस्, त्यसपछि खेल्न पाइन्छ भन्ने प्रचण्डको योजना छ ।’

 

प्रतिक्रिया दिनुहोस