Latest News

जनार्दन शर्मा प्रकरण : पत्रकारको बयानलगत्तै छानबिन समितिले गर्यो यस्तो निर्णय

Nepalese Times July 20, 2022 (2 Year ago)    617 Views

काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

तोकिएको समयमा काम नसक्ने निश्चित भएको भन्दै छानबिन समितिले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो । समितिको आज बसेको बैठकले ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएकोमा आज ८ दिन आठौं दिन गुज्रिसकेको छ । अझै केही व्यक्तिहरुको बयान लिन बाँकी नै रहेको छ भने सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुन्छ । त्यसका लागि थप केही दिन लाग्ने भएपछि समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।

यस्तै अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । आज सिंहदरबारमा भएको बैठकमा उनीहरुलाई बोलाएर समितिले सोधपुछ गरेको हो । समितिका सदस्यहरुले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घन्टा कुराकानी गरेका थिए ।

उनीहरुको प्रश्नमा दुवै पत्रकारले आफूहरु समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरुले समाचारको स्रोत नखोल्ने बताए ।

‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।

समितिका सदस्यहरुले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने दिएनन् । उनीहरु आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर सोधेका थिए । पत्रकारहरुले त्यस्तो महसुस नगरेको बताए ।

आफूहरुसँग समाचार स्रोतका अलावा अर्थमन्त्रीविरुद्ध अन्य प्रमाणहरु पनि भएको बयानपश्चात पत्रकार थापाले बताइन् । जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ भएको यथेष्ट प्रमाण पाएपछि नै समाचार लेखिएको भन्दै उनले तर, प्रमाण सार्वजनिक गर्न भने नमिल्ने बताइन् ।

काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्टमा पहिलोपटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार प्रकाशित भएको थियो ।

सोही समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । अन्नपूर्ण पोष्टले अहिलेसम्म समाचार पुष्टि हुने कुनै प्रमाण भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस