Latest News

एमालेका जनप्रतिनिधिको ‘स्वीमिङ पुल काण्ड’ ले लियो नयाँ रुप

Nepalese Times July 18, 2022 (2 Year ago)    396 Views

तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै एमालेले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि दुर्व्यवहार गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई कारबाहीको माग गरेको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित गरेका थिए ।

त्यस क्रममा नगरसभा स्थगित गरेको भन्दै एमालेका जनप्रतिनिधिले विरोध गरेका थिए । विरोधमा धकेलाधकेल हुने क्रममा डीएसपी केसीले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालिदिएका थिए ।

बैठक स्थगित भएपछि नगरप्रमुख खाँण भएको हलमा पुगेका प्रमुख प्रशासकीय जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिइ विरोध सुरु गरेसँगै प्रहरी प्रशासनबाट एसपीसहितको टोली सो स्थानमा आएको थियो ।

ज्ञवालीलाई हलबाट निकालिसकेपछि रोक्न पुगेका एमालेका वडाध्यक्ष क्षेत्रीलाई प्रहरीले स्वीमिङ पुलमा खसालिदिएका थिए ।

सो घटनाको भत्सर्ना गर्दै एमालेका नेताहरूले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हुन् ।

यसैबीच, युवा संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा स्थगन तथा वडाध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै युवा संघ नेपालले सोमबार रुपन्देहीमा विरोध प्रदर्शन गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष सुमन पुरीले गृहमन्त्री बालकृष्ण खाँणले भाई रामकृष्णको आग्रहमा पदको दुरुपयोग गरी एमालेका जनप्रतिनिधिमाथि ज्यादती गरेको आरोप लगाए ।

डीएसपी केसीलाई तत्काल कारबाही गर्न र नगरसभा सञ्चालन गर्न माग गर्दै उनीहरूले आफूहरूको माग सम्बोधन नभए युवासंघले कारबाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस