Latest News

दैनिक पाँच रुपियाँमा तरकारी !

Nepalese Times July 18, 2022 (1 Year ago)    377 Views

काठमाडौँ ।

अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् । अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त ? तर तीनधारा पाकशालामा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई अझै पनि तरकारीबापत दैनिक पाँच रुपियाँ खान्की तोकिएको छ ।

सुरुदेखि नै ती विद्यार्थीका लागि दाल, भात, तरकारी र दैनिक एक तोला घिउको खान्की कायम रहँदै आएको छ । दाल र भात नेपाल संस्कृत विश्वविद्यालयले नै ठेकेदारमार्फत उपलब्ध गराउने गरेको छ भने तरकारी र घिउका लागि पाकशालालाई रकम उपलब्ध गराइन्छ ।

दैनिक एक तोला घिउका लागि २५ रुपियाँ उपलब्ध गराइन्छ । बजारमा प्रतिकेजी घिउलाई सरदर एक हजार दुई सय रुपियाँ पर्छ । सो मूल्यअनुसार एक तोला घिउलाई करिब १४ रुपियाँ पर्छ ।

तीनधारा पाकशालाका सुपरिवेक्षक डा. प्रकाश ढकालले बिहान–साँझको दुई छाक खानामा तरकारी र घिउका लागि दैनिक ३० रुपियाँ उपलब्ध हुँदै आएको बताउँदै भने, “तरकारी र घिउका लागि दिइएको रकम मिलाएर छाकको १५ रुपियाँले पुग्ने तरकारी खुवाउने गरिएको छ । महँगो तरकारी किन्न पुग्दैन । सस्तो सस्तो तरकारी खोज्नुपर्छ ।”

घिउ खान चाहने विद्यार्थीले घरबाटै ल्याएर आउनुपर्ने हुन्छ । तरकारीमा हाल्ने मरमसला पनि त्यही रकमबाट पु¥याउनुपर्ने हुन्छ । धीरशमशेरले १९३८ सालमा संस्कृत पाठशालाका विद्यार्थीका लागि पाकशालाको व्यवस्था गरिदिएका थिए ।

उनका छोरा वीरशमशेरले थप विद्यार्थीका लागि आवास र खानाको प्रबन्ध गरिदिए । त्यो बेला १०८ जना विद्यार्थीको दरबन्दी कायम थियो । राणाकालमा तीनधारा पाकशालालाई ‘गुठी’ भन्ने चलन थियो । गुठीमा बस्न त्यो बेला प्रधानमन्त्रीसम्मको ‘सोर्स’ चाहिन्थ्यो ।

गाेरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस