Latest News

आजबाट इन्टरनेटको शुल्क घट्यो, कतिमा झर्यो ?

Nepalese Times July 17, 2022 (1 Year ago)    1093 Views

काठमाडौं ।

आजदेखि इन्टरनेटको शुल्क घटेको छ ।

आर्थिक विधेयकमार्फत दूरसञ्चार सेवा शुल्क १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै नयाँ आर्थिक वर्षको सुरूवातबाट सेवा प्रदायकहरूको महसुल दर पनि सामान्य घटेको हो । अन्य शुल्क भने यथावत राखिएको आर्थिक ऐनमा उल्लेख छ ।

इन्टरनेट सेवा प्रदायकहरूले एकले अर्काको नेटवर्क प्रयोग गरेको अवस्थामा भने इन्टरकनेक्सन चार्ज र फिक्स्ड ब्रोडब्याड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा भने यस्तो दस्तुर लाग्ने छैन ।

यस्तै नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो ।

टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत यसअघि लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ।

यसैगरी साउन १ देखि समर अफरअन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिएका छन् ।

सरकारले आजदेखि आयकरको सीमा बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले आयकरको सीमा बढाएको हो । नयाँ व्यवस्था आजैदेखि लागु हुनेछ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन ।

त्यस्तै विवाहितको हकमा ६ लाख रुपैयाँसम्म आयकर लाग्दैन । यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ ।

यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।

वार्षिक २० लाख रुपैयाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ । विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ ।

आठ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ । २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस