Latest News

घेराबन्दी गरे विद्रोह गर्ने कांग्रेस महामन्त्री गगन थापाको चेतावनी

Nepalese Times July 17, 2022 (2 Year ago)    414 Views

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घेराबन्दी गरे आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार भएको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले गुट भेलाको बचाउ गरेका हुन्।

‘हिजो क-कसले भेला गरेको थियो त्यसबेलाको फोटो हेरौं। पार्टीले कसैलाई अपमान नगरे गुट भेला गर्न पर्दैन। पार्टीमा निर्णय गर्दा परामर्श नगर्ने, एकलौटी निर्णय हुन थालेपछि गुट भेला हुन्छ,’ उनले भने,‘हामी निर्वाचित महामन्त्री हौं, अपमान गर्न मिल्दैन। घेराबन्दी गर्न खोजे चुप लागेर बस्ने कुरा हुन्न।’

गुट भेला गर्ने काम आफूहरूले सुरूआत नगरेको उनले दाबी गरे। पहिले क-कसले कहाँ गुट भेला गरेका थिए भन्ने पुराना फोटोहरू हेर्न पनि उनले सुझाएका थिए।

‘यहाँ गुट भेलाको कुरा आयो। पहिले कसले कहाँ गुट भेला गरेको थियो पुराना फोटो हेरौं। गुगल सर्च गरेर ती गुट भेला हेरे हुन्छ। ठूलो घर हुनेले ठूलै घरमा गुट भेला गरे, सानो घर हुनेले घरमा भेला नगरेर होटल/ पार्टी प्यालेसमा गरे होलान्, तर के गल्ती गरे र?,’ उनले प्रश्न गरे, ‘आखिर पार्टीलाई विधान अनुसार काम गर्न खबरदारी गरेका छन्।’

शेखर कोइराला समूहको गुट भेलामा महामन्त्री गगन थापा गएको भन्दै देउवा समूहका नेताहरू रमेश रिजाल, राजीव ढुंगाना लगायतले केन्द्रीय समितिमा प्रश्न उठाएका थिए।

देउवा समूहका अधिकांश केन्द्रीय सदस्यले महामन्त्री गगन र विश्वप्रकाशको आलोचना र देउवाको बचाउमा बोलेका थिए।

देउवाले विधानबमोजिम काम गर्न नसकेको उनले आरोप लगाएका छन्। ‘छ महिनाभित्र विधानबमोजिम सभापतिले काम गर्न सक्नुभएन। सभापतिजस्तै हामी पनि महामन्त्री जितेर आएको हो तर विधान कार्यान्वयन नहुँदा अपजस हामीमाथि पनि आउन थाल्यो,’ उनले भने, ‘सभापतिले विधानअनुसार समिति गठन, विभाग गठनलगायत काम नगर्दा दोष हामीमाथि पनि आयो, यो राम्रो होइन। तुरून्त विधानबमोजिम गर्नुपर्ने काम गरौं।’

विधान कार्यान्वयन गरौं भनेर सभापतिलाई पटक-पटक भेटेको पनि उनले सुनाए। त्यसरी भेटेर विधान अनुसार अघि बढौं भन्नु सभापतिलाई असहयोग गरेको भन्न नहुने उनको भनाइ थियो।

‘विधान कार्यान्वयन गरौं भनेर हामीले सभापतिलाई पटक-पटक भेट्यौं, भन्यौं। विधानअनुसार अघि बढौं न भन्दा सभापतिलाई असहयोग गरेको भन्न हुन्न,’ उनले भने,‘सभापति बलियो बनाउन र विधान अनुसार पार्टी चलाउन हामी लागिपरेका छौं। तर सभापति हाम्रो सल्लाहबिनै कहिलेकाहीँ अघि बढिदिनुहुन्छ। महामन्त्रीहरू, पार्टी पदाधिकारीलगायतसँग त कम्तीमा सल्लाह गरेर अघि बढ्न सके हुन्थ्यो।’

त्यस्तै, नेविसंघलगायत चार भ्रातृ संस्थामा सभापति चयन गर्दा पनि आफूहरूसँग परामर्श नलिएको उनले बताए। भ्रातृ संस्थाले नेतृत्व पाइसकेपछि मात्रै आफूहरूले थाहा पाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस