काठमाडौं ।
भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवाबीच भेट भएसँगै यसबारे अनेक टिप्पणीहरु सुरु भएको छ ।
शनिवार बिहान नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रचण्ड र आरजुको भेट भएको हो। उपचारका लागि केही दिन अघि नै आरजु भारतमा पुगेकी थिइन्। भेटमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहाल सहभागी भएका थिए ।
भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यो दृश्य लज्जासपद भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेको आरजु र प्रचण्डको भेटबारे सामाजिक सञ्जाल ट्वीटरमा रिजालले लेखेका छन्, ‘एउटा लज्जास्पद दृष्य प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ ।’
रिजालले भनेका छन्, ‘२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि देउवा र महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो।’ यो दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएकोसमेत उनले दाबी गरेका छन्।
सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू खुसी भएको भए पनि यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको बताएका छन् ।
प्रधानमन्त्री पत्नी दिल्लीमै हुँदा प्रचण्डको भ्रमण हुन लागेको बारे सोधिएको प्रश्नमा प्रचण्डले आरजु व्यक्तिगत कारणले र आफू नितान्त देश र जनताको हितमा केन्द्रित दुई देशबिचको सम्बन्ध बढाउन सद्भावना भ्रमण गर्न लागेको बताएका थिए।