Latest News

नेपाल मामिलामा चर्को स्वरले बोल्न थाले अमेरिकी र चीन, गरे यस्तो सवाल-जवाफ

Nepalese Times July 15, 2022 (2 Year ago)    470 Views

काठमाडौं ।

नेपालको संसदले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गरेको पाँच महिना हुन थालिसक्यो। नेपालका दुई मित्र राष्ट्र र संसारका शक्तिशाली दुई मुलुक अमेरिका र चीनबीच भने एमसिसीबारे बहस अहिले पनि जारी छ।

पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत सिफारिस भएका डिन थम्पसनको अभिव्यक्तिले यो विषय चर्चामा आएको छ।

संसदीय सुनुवाइका क्रममा गत बुधबार थम्पसनले गलत सूचना फैलाउने चीनको अभियानका बाबजुद् नेपालको संसदले ५ सय मिलियन डलरको एमसिसी पारित गरेको बताएका थिए।

नेपाल आउन लागेका अमेरिकी दूतले एमसिसीबारे चीनले नेपालमा गलत सूचना फैलाउन अभियान चलाएको भनेपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि प्रतिक्रिया जनाएको छ।

दूतावासले थम्पसनको आरोप आधारहीन भएको बताएको छ। ‘थम्पसनको कुराले चीनको मात्र बदनाम गरेको छैन, नेपाल र नेपालीको पनि अपमान गरेको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ,‘साँच्चै भन्ने हो भने योचाहिँ भ्रामक सूचना हुन्। चीन यसको खण्डन गर्दछ।’

एमसिसीबारे नेपालमा चर्को बहस भएको र संसदले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको कुरा जगजाहेर भएको चीनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय सहायता लिँदा परस्पर सम्मान र समानताको आधारमा सम्बन्धित देशको सार्वभौमसत्ता र नागरिकको सम्मान हुनुपर्ने, घरेलु मामिलामा हस्तक्षेप नगर्ने, राजनीतिक स्वार्थ नजोडिएको र कूटनीतिक दबाब हुनु नहुने कुरामा चीन सधैँ प्रतिवद्ध छ,’ विज्ञप्तिमा भनिएको छ,‘नेपालको छिमेकी मित्र र विकास साझेदार भएकाले चीन नेपालको सार्वभौमिकताको रक्षा, स्वतन्त्रता र राष्ट्रिय हितको सुरक्षा गर्न, नेपालले स्वतन्त्र आफ्नै स्वतन्त्र विकास पथअनुसार अघि बढ्न सहयोग गर्नेछ।’

एमसिसी परियोजना नेपालको संसदबाट पारित हुनुअघि पनि बेइजिङ र वासिङ्टनका अधिकारीहरूबीच पटक-पटक सवाल जवाफ भएको थियो।

प्रतिक्रिया दिनुहोस