काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के विकल्प हुन्छ र ?भन्नु भएको छ ।’
यस्तै राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लीग का संयोजक सुमन देवकोटाले गभर्नर अधिकारीविरुद्ध बिहीवार अख्तियारमा उजुरी दिएका हुन् ।
वाइसीएलले गभर्नर अधिकारी एम अधिकारीको नामबाट एमाले राजनीतिमा सक्रिय रहेको, राजनीतिक दलको सदस्य वा पदाधिकारीमै बसेको भन्दै उनीविरुद्ध छानबिनको लागि अख्तियारमा उजुरी दिएको छ ।
गभर्नर अधिकारी नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ विपरीत राजनीति दलको सदस्य वा पदाधिकारी हुँदा राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र नैतिकताको संवेदशीलतामाथि प्रश्न उठेको उल्लेख छ ।
गभर्नरको यस्तो कार्यले राज्यलाई गम्भिर हानी नोक्सानी पुग्ने खतरा भएकोले उनीमाथि छानबिन गरी बर्खास्त गर्नुपर्ने मागसहित भ्रष्टाचार कसूरमा कारबाही गर्न माग गर्दै वाइसीएलले उजुरी दर्ता गरेको जानकारी दिएको छ ।
वाइसीएलले अख्तियारमा दर्ता गराएको उजुरीमा अधिकारीले झुठा प्रमाणपत्र पेश गरेर राष्ट्र बैंकको गभर्नर भएको, उनले भ्रष्टाचारजन्य कसूर गरेको, स्नातकोत्तर तह नै उत्तीर्ण नगरी राष्ट्र बैैंक ऐनविपरीत गभर्नर भएको, एमालेको अर्थ विभागको सदस्यमा रहेको र आगामी आवको मौद्रिक नीतिको तयारीका लागि स्वार्थ बाँझिने गरी काम गरेकोले आवश्यक छानबिन गर्न वाइसीएलले माग गरेको छ ।
वाइसीएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गरेर भ्रष्टाचारको कसूरमा कारबाही गर्न माग गर्दै आवश्यक प्रमाणसहित उजुरी दिएको जानकारी दिएको छ ।