Latest News

अन्तत: रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भए, को-को लैजाँदै छन् साथमा ?

Nepalese Times July 14, 2022 (2 Year ago)    484 Views

काठमाडौं ।

काठमाडौं विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष आफैले पदबाट राजिनामा दिएको विवेकशील साझा पार्टीबाटै राजावादी व्यक्तिहरु खोज्न थालेका छन्। राजावादी व्यक्ति खोज्नकै लागि मिश्रले साउन ३२ गते शनिवार पार्टीका नेता तथा सदस्यहरुसँग अन्तरक्रिया गर्न थालेका छन्।

राप्रपामा सहअध्यक्ष पाएर प्रवेश गर्न या राप्रपा फुटाएर नयाँ राष्ट्रवादी शक्ति बनाउने सोचमा रहेका मिश्रले पार्टीका नेता तथा सदस्यहरुलाई होल्ड गर्न यो अन्तरक्रिया गर्न लागेका हुन्।

मिश्र निकट श्रोतका अनुसार मिश्रले यो अन्तरक्रियामा आफ्ना एजेण्डा प्रष्टसँग राख्ने तयारी गरेका छन्। धर्म निरपेक्षतामा जनमत संग्रह र संघीयता खारेजीको मुद्धा उठाउँदै विचार भन्दा माथि देश दस्तावेज सार्वजनिक गरे पछि मिश्र नेतृत्वको विवेकशील साझाले गएको स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेको थियो।

विचारभन्दा माथि देशको पहिलो ड्राफ्ट
विचारभन्दा माथि देश दस्तावेजको पहिलो ड्राफ्टमै मिश्रले नेपालमा शाहवंशीय राजतन्त्र आवश्यक रहेको उल्लेख गरेका थिए। उक्त ड्राफ्ट आफू निकटका कार्यसम्पादन समितिका सदस्यहरुलाई पठाएका मिश्रहरुले आफू निकटकाले नै राजतन्त्रको मुद्धा बोक्न नसक्ने बताएपछि हटाएर सार्वजनिक गरेका थिए।

राप्रपासँगको एकता
मिश्रले स्थानीय निर्वाचन अगाडिनै राप्रपासँग एकता गर्ने प्रयास गरेका थिए। राप्रपामा लिङ्देनकै बराबरीको अधिकार सहित सहअध्यक्ष पद मागेपछि वार्ता भंग भएको थियो। त्यसैले मिश्रले ढिलो गरि स्थानीय निर्वाचनमा जाने निर्णय गरेका थिए।

राजिनामाको प्रसंग
स्थानीय निर्वाचनमा पराजय व्यहोरेकोले नैतिक रुपमा राजिनामा दिएको भनिएका मिश्रको राजिनामाको कारण भने अर्कै छ। विचारभन्दा माथि देश दस्तावेज सार्वजनिक गर्दा असहमति जनाउँदै मिलन पाण्डे समुहले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो।(जुन मुद्धा अहिलेपनि अदालतमा विचाराधिन छ।) मिश्रले २०७८ चैत २५ गते नै राप्रपामा जाने तयारी गरेको थाहा पाएपछि पार्टी भित्रकै निर्देश सिलवाल समुहले रवीन्द्र मिश्रलाई हटाउन निर्वाचन आयोगमा हस्ताक्षर बुझाएको थियो। निर्वाचन आयोगमा सिलवाल समुहले दिएको उजुरीको निर्वाचन लगत्तै छानविन हुने र आफ्नो बहुमत पु¥याउन नसक्ने देखेपछि मिश्रले निर्वाचन पराजयको बहाना गर्दै राजिनामा दिएका हुन। राजिनामा दिँदा पार्टी भित्र ३ वटा समुह भएको कुनैपनि समुहले कोरम पु¥याउन नसक्ने बुझेरै मिश्रले राजिनामा दिएका हुन। राजिनामा दिएपछि मिश्रले आफू निकटका केन्द्रीय सदस्यहरुलाई यो पार्टी बनाउने आफ्नो इच्छा नभएको र राप्रपामै जानुपर्ने भन्दै केही समय पर्खिन आग्रह गरेका थिए।

राप्रपासँग पुनः एकीकरणको प्रयास
पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका मिश्रले पुन राप्रपासँग एकीकरणको प्रयास गरे। राप्रपासँग पुन एकीकरणको संवादमा मिश्रले आफूसँगै सिटीजन्स डिस्कसन फोरमबाट विवेकशील साझामा भि†याएका राजावादी नेता नारायण कोइराला र पार्टीका प्रवक्ता शरदराज पाठक समेतलाई सहभागी गराएका थिए। तरपनि राप्रपाले मिश्रलाई खासै महत्व नदिएर महामन्त्री धवल शमसेर राणा नेतृत्वको वार्ता समितिनै भंग गरेको थियो।

अध्यक्ष मण्डलको डिजाइन
राप्रपाले वार्ता समिति भंग गरेपछि छटपटाएका मिश्रले पार्टीका केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै पार्टीलाई अनिर्णयको बन्दी नबनाई नयाँ ढंगले उठाउनु पर्ने प्रस्ताव गरेका थिए। उक्त इमेलमा अध्यक्ष मण्डलको नेतृत्वमा आफू नआउने पनि मिश्रले उल्लेख गरेका थिए। तर मिश्र निकट श्रोतका अनुसार अध्यक्ष मण्डलको प्रस्तावपनि मिश्रले रणनीतिक रुपमा गरेका थिए। ५ सदस्यीय अध्यक्ष मण्डलमा आफ्नो तर्फबाट प्रवक्ता शरदराज पाठकलाई राख्ने, सिटिजन्स डिस्कसन फोरमबाट नारायण कोइरालालाई राख्ने, निर्देश सिलवाल समुहबाट निर्देश सिलवाललाई राख्ने, मिलन पाण्डे समूहबाट मिलन पाण्डेलाई नै राख्ने र महिलाको तर्फबाट समिक्षा बास्कोटालाई राख्ने मिश्रको भित्री तयारी थियो। यसो गर्दा पाठक, कोइराला र बास्कोटा आफ्नो पक्षका भएकोले राप्रपासँग एकीकरणको वातावरण बनेको खण्डमा बहुमत अध्यक्षमण्डलबाट निर्णय गराउन सकिने मिश्रको तयारी थियो।

राप्रपा फुटाएरै भएपनि राप्रपा जाने तयारी
राप्रपाले वार्ता समिति भंग गरेपछि अत्तालिएका मिश्रले विवेकशील साझामा अध्यक्ष मण्डलको प्रस्ताव गरे। अध्यक्ष मण्डल नबनेसम्म पार्टीका सदस्यहरुसँग अन्तरक्रिया नगर्ने बताएका मिश्रले राप्रपा फुटाएरै भएपनि राप्रपा जान सकिने संभावना देखेपछि आफ्नै पार्टीभित्र राजावादीहरु खोज्न थालेका हुन्। राप्रपाका नेता दिलनाथ गिरीलाई प्रयोग गरेर मिश्र राप्रपामा लिङ्देन विरोधी समुह बनाउन सफल भएका छन्। मिश्रकै कारण राप्रपा फुटको अन्तिम संघारमा पुगेको छ। राप्रपा फुटाउनकै लागि मिश्रले दिलनाथ गिरी, पशुपति शमसेर राणा र पूर्वराजाका एकजना सचिव समेतको सहयोग लिएको श्रोतको दाबी छ। पारिवारिक भ्रमणका क्रममा थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किनासाथ लिङ्देनलाई पूर्वराजाबाटै मिश्रलाई बराबरी अधिकार सहितको सहअध्यक्ष बनाउन दबाब दिने र सो दबाब राप्रपा अध्यक्ष लिङ्देनले नमाने पार्टी फुटाएरै मिश्र सहितको राष्ट्रवादी शक्ति निर्माण गर्ने तयारी छ।

घरभाडा काण्ड
विवेकशील साझा भित्रको विवाद, निर्वाचनको लज्जास्पद पराजय अनि मिश्रले ज्ञानेन्द्र शाहलाई नै पुनः राजा बनाउने मिसननै बोकेर राजनीतिमा आएको थाहा पाएपछि पार्टी छोड्ने नेताहरुका कारण मिश्र सांगठनिक रुपमा निकै कमजोर बनेका छन्। पार्टीका साथीहरु आफूसँग भएको र त्यो टिम सहित राप्रपा आउन लागेकाले राप्रपामा सहअध्यक्ष पद दिनुपर्ने बार्गेनिङ गरिरहेका मिश्र पछिल्लो समय आफू निकटकाले नै साथ छोड्दै गएपछि कमजोर बनेका हुन्। राप्रपाले आफूसँग मान्छेहरु नभएको थाहा नपाओस भन्नकै लागि मिश्रले केहीदिन अघि पार्टीका नेता सौरेन्द्र बहादुर शाहको नाममा १ महिनाका लागि पार्टी कार्यालयको भाडा तिरेका थिए। आफूसँग मान्छे पनि नभएको र पार्टी कार्यालय समेत नहुँदा आफू कमजोर बनेको सन्देश जाने र राप्रपा या राजावादी समुहहरुसँगको बार्गेनिङ कमजोर हुनसक्ने ठानेर मिश्र आफैले सौरेन्द्र शाह मार्फत १ महिनाको भाडा तिरेका हुन्। अन्यथा पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख दिपक उप्रेतीले पार्टी कार्यालय सँधैका लागि बन्द हुने सूचना जारी गर्ने तयारी गरेका थिए।

विचारभन्दा माथि देश कितावका रुपमा आउँदै
बजारमा तरंग ल्याउन माहिर रवीन्द्र मिश्रले विचारभन्दा माथि देश दस्तावेजलाई २ महिनाभित्र पुस्तकका रुपमा ल्याउँदै छन्। उक्त पुस्तकमा मिश्रले देशमा राजतन्त्र र राजा आवश्यक रहेको प्रष्ट उल्लेख गर्नेछन्। त्यस्ले ल्याउने तरंगले हजारौं राजावादीहरु आफू वरिपरि आउने र जस्को जगमा आफ्नो नेतृत्वमा नयाँ राष्ट्रवादी शक्ति बनाउने मिश्रको तयारी छ।

मिश्रका पछिल्ला अभिव्यक्ति
मिश्रले पछिल्लो समय आफ्ना निकटस्थहरुसँग आफू ज्ञानेन्द्र शाहलाई राजगद्धिमा पुनर्वहाली गर्न सडकमा गोली खान समेत तयार रहेको बताउने गरेका छन। पार्टी स्थापना गर्दा वैकल्पिक राजनीतिको आकर्षणले लाखौं युवाको भोट आफूलाई प्राप्त हुने र जस्को जगमा राजतन्त्र फर्काउने सोचकै कारण उतिबेला यो एजेण्डा नराखेको मिश्र बताउँछन्। आफू राजनीतिमा आएकै राजा फर्काउन भएको तर विविध परिस्थितिका कारण या एजेण्डा सार्वजनिक गर्न ढिलो भएकोमा मिश्रले पछुतो सम्म मान्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस