Latest News

महानगरको १ करोड बजेट प्रकरणमा ‘रुटिन अफ नेपाल बन्द’ ले पनि मुख खोल्यो (विज्ञप्तिसहित)

Nepalese Times July 14, 2022 (2 Year ago)    383 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाले ई–स्पोर्ट्स का लागि एक करोड रुपैयाँ बजेट छुट्याएको प्रकरणमा ‘रुटिन अफ नेपाल बन्द’ ले पनि मुख खोलेको छ ।

विभिन्न संचार माध्यममा चुनावको बेला लगाएको गुन तिर्नका लागि ‘रुटिन अफ नेपाल बन्द’ लाई फाईदा पुग्नेगरी बजेट विनियोजन गरेको भनेर खबर प्रकाशित गरेसँगै ‘रुटिन अफ नेपाल बन्द’ ले पनि मुख खोलेको हो ।

एक विज्ञप्ति प्रकाशित गरेर उसले हिमालय टिभीले आफूहरुको नाम लिएर प्रशारण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त समाचारमा आफूहरु मात्र ई–स्पोर्ट्स कम्पनी भन्ने दावी गरेर काठमाडौँ महानगरले १ करोड बजेट छुट्याएको भनिएकोमा ‘रुटिन अफ नेपाल बन्द’ ले आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै इ–स्पोर्ट्स कम्पनी होइन भने यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होइन । हाम्रो संस्था प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो । तथ्यका आधारमा भन्ने हो भने ई–स्पोर्ट्स खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् नेपालमा ।’

विज्ञप्तिमा लेखिएको छ, ‘ समाचारमा भनिए जस्तो ई–स्पोर्टसको समुहमा पब्जी मात्रै पर्ने पनि होइन । बिना अनुसन्धान कुनै व्यक्तिरकम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ ।’

‘रुटिन अफ नेपाल बन्द’ ले समाचार, समाचार निर्माता तथा प्रसारण गर्ने कार्यक्रम र संस्थाका बिरुद्ध मानहानी र प्रेस काउन्सिलमा झुटो समाचार सम्प्रेषण गरेको बारे उजुरी दर्ता गर्ने चेतावनीसमेत दिएको छ ।

पितपत्रकारिताको आडमा कसैप्रति लक्षित अनर्गल प्रचार गर्दै आफ्ना कुण्ठा व्यक्त गर्ने दुष्कर्मबाट सम्पुर्ण मिडियाक्षेत्रलाई बदनाम नगर्न र नगराउनसमेत विज्ञप्तिमार्फत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस