Latest News

आफ्नो बुबाको नाममा सालिक बनाउन नपाएपछि गण्डकीका मुख्यमन्त्रीले झारे आँखाबाट आँशु !

Nepalese Times July 12, 2022 (2 Year ago)    469 Views

काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुवा गोवर्द्धन शर्माको योगदान अहिलेको पुस्ताले नचिनेको गुनासो गरेका छन् ।

अहिलेको पुस्ताले बुबाको योगदान नबुझेकाले मेमोरियल ट्रष्टलाई बजेट छुट्याउँदा विरोध भइरहेको उनले टिप्पणी गरेका छन् । बुवा गोवर्द्धन शर्माको नामको कोषलाई बजेट छुट्याएपछि मुख्यमन्त्री पोखरेलको आलोचना भइरहेको छ ।

मंगलबार प्रदेशसभाको विशेष समय मागेर बोल्दै मुख्यमन्त्री पोखरेलले गोवर्द्धन शर्मा आफ्नो पितामात्रै नभइ प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकाले प्रदेशकै सम्मानको रूपमा लिनुपर्ने बताए ।

पञ्चायतको विरोध गर्दा पटकौँ पटक हिरासत र जेल वरण गरेको भन्दै उनले त्यस्तँे व्यक्तिलाई अहिलेको पुस्ताले नचिनेको बताए ।

अघिल्लो पुस्ताले त्यो व्यक्तिको नाम लिँदै गर्दा आफूलाई प्रदेशकै सम्मानको रूपमा लिनुपर्ने व्यक्तित्व रहेको लागेकोले यस्तो निर्णय गररिएको उनले बताए ।

राजनीतिक दल नहेरी देशका लागि शहीद भएकालाई सम्मान गर्नुपर्ने भन्दै उनले आफ्नो बुवा र परिवारले गरेको योगदानको चर्चा हुन नसकेको भन्दै दुःख प्रकट गरे ।

उनले भने, ‘मेमोरियल ट्रष्ट १५ वर्षदेखि छ । नेपाल सरकार, अन्य विभिन्न संस्थाबाट सहयोग ल्याएर अर्गानिक खेती, कृषिका रिसर्च सेन्टरको काम गरिरहेको छ । त्यो संस्थालाई प्रदेश सरकारले रकम विनियोजित गर्‍यो ।’

मुख्यमन्त्री पोखरेलले आँखा रसिलो बनाउँदै थपे, ‘गरिब मुख्यमन्त्रीलाई एक रुपैयाँ राख् भनेर राजनीति भजाउने कुरा हो । व्यक्तिमात्रै होइन परिवारले पनि धेरै गरेको छ । त्यो कुरा हुन सकेन ।’

एमालेनिकट अनेरास्ववियु र युवा संघले मुख्यमन्त्री र मन्त्रीको कोषलाई भनेर ‘एक रुपैयाँ’ संकलन अभियान चलाइरहेकोमा पनि मुख्यमन्त्री पोखरेलले आपत्ति जनाए ।

गरिब मुख्यमन्त्रीलाई एक रुपैयाँ भनेर राजनीति भजाउने कुरा भएको भन्दै उनले इतिहास बनाउन आफूलाई समर्पित गर्ने व्यक्तिले सम्मान हुने हक राख्ने बताए ।

विगतका सरकारले पनि प्रतिष्ठान, कोषलाई बजेट विनियोजन गरेको र योगदान गरेकालाई सम्मान गर्नु स्वाभाविक भएको बताए ।

नागरिक समाज, सामाजिक सञ्जाल प्रयोगकर्ताको आवाजको सम्मान गर्दै विवादमा आएका कार्यक्रम हटाउन मुख्यमन्त्री पोखरेलले अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेका छन् । मुख्यमन्त्री पोखरेलले यो विषय मंगलबारको संसद बैठकमा जानकारी गराएका छन् ।

गोवर्द्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कलगायत शीर्षकमा १ करोड ९० लाख रुपैयाँ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० को वार्षिक कार्यक्रममा समावेश गरेका छ । यी कोष मुख्यमन्त्री, मन्त्री र कांग्रेस नेताको परिवारसम्बद्ध हुन् ।

प्रतिक्रिया दिनुहोस