काठमाडौं ।
सरकारले ४ मंसिरमा चुनाव गर्ने भएको छ । निर्वाचन आयोगले २ मंसिरमा गर्न सुझाव दिएपनि सरकारले ४ मंसिरमा गर्ने गरी मन्त्रिपरिषदबाट सिफारिश गर्ने बुझिएको छ ।
२ मंसिर शुक्रबार परेको र मुसलमान समुदायले आफूहरुको नमाज पढ्ने दिन भएकाले सार्न आग्रह गरेपछि सरकारले आइतबार पार्ने भएको हो । ४ मंसिरको आइतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशको चुनाव हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश हुने बुझिएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेपछि आयोगले चुनावको नयाँ मिति प्रस्ताव गरेको थियो ।
आयोगले आगामी मंसिर २ गते आम निर्वाचनका लागि सरकारलाई सिफारिस गरेको भएपनि सरकाले भने २ दिन पछि सार्ने तयारी गरेको हो । सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिदबाट निर्णय गर्नुपर्ने आयोगको सुझाव छ।
बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग निर्वाचनकाे तयारीबारे छलफल गरेका हुन्। निर्वाचनको मिति घोषणालगायतका विषयमा आयोगले प्रधानमन्त्रीसँग छलफल भएको आयाेगले जनाएकाे छ।
आयोगले सरकारलाई गरेको सिफारिसमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन २०७३ को दफा ३ को उपदाफ १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्बत २०७९ साल मंसिर २ गते शुक्रबार एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिने।’
निर्वाचनको मिति निर्वाचन आयोगको सिफारिसमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोग स्रोतका अनुसार आयोग पदाधिकारीले १२० दिन तयारीको समय पुग्ने गरी मिति घोषणा गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।