Latest News

भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेल देउवा भेट्न काठमाडौं आउँदै, कारबाही फुकुवा होला ?

Nepalese Times July 12, 2022 (2 Year ago)    474 Views

काठमाडौं ।

चितवनको मतरपुर महानगरपालिकामा गएको स्थानीयि तह निर्वाचनमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेल कांग्रेसका नेताहरुलाई भेट्न काठमाडौं आउने भएका छन् ।

काठमाडौंमा उनले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत नेताहरुसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएसँगै त्यसको विरोधमा जगन्नाथले उम्मेदवारी दिएका थिए । सत्ता गठबन्धनका उम्मेदवारीको विरुद्धमा उम्मेदवारी दिएको भन्दै उनीसहित उनका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही गरेको थियो ।

उनलाई पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए।

निर्वाचनमा पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेका थिए। पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि पार्टीले उनलाई सघाउने जिल्ला नेताहरूलाई कारबाही गरेको थियो। उम्मेदवार, प्रस्तावक र समर्थक उम्मेदवारी दर्तासँगै कारबाहीमा परेका थिए।

अहिले उनीहरुमाथिको कारबाही फुकुवा गर्नुपर्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा उठेको छ । स्थानीय तह चुनावमा बागी उम्मेदवारी दिएकाहरुमाथि लगाईएको कारबाही फुकुवा गर्नुपर्ने माग बैठकमा उठेको हो ।

सोमबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको कमजोरीका कारण भरतपुरमा कार्यकर्ताले उम्मेदवारी दिएको दाबी गरेका छन्।

चुनावमा अरूसँग मिलेर चुनाव लड्ने भनिएको तर स्थानीय आवश्यकता र औचित्यका आधारमा मिलेर लड्ने भन्ने केन्द्रीय समितिको निर्णय रहेकोमा त्यो निर्णयलाई केन्द्रबाटै लत्याइएको उनले बताए ।

कोइरालाले भने, ‘भरतपुर महानगरपालिका हामी एक्लै जित्ने थियौं, स्थानीय निर्णय पनि त्यही थियो तर माओवादी केन्द्रलाई भरतपुरको प्रमुख दिइयो। हामीले भरतपुर गुमाउनुको जिम्मेवारी कसले लिने हो रु त्यो लिनुपर्छ।’

उनले केन्द्रीय समितिले जबर्जस्ती लादेको विषयमा कार्यकर्तालाई कारबाही गर्न नहुने उनले बताए। स्वतन्त्र उम्मेदवारी दिने, प्रस्तावक, समर्थक बस्नेलाई पार्टीले बोलाएर कुरा गर्नुपर्ने भन्दै उनले निलम्बनमा परेका सबैलाई अविलम्ब निलम्बन फुकुवा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस