काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच झण्डै १५ मिनेट टेलिफोनमा कुराकानी भएको हो ।
वाम एकताका लागि कम्युनिष्ट नेताहरुले सक्रियता बढाइरहेको समयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको हो ।
यसअघि यी दुई पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर, नेताहरुबीचको विवाद चरम उत्कर्षमा पुग्दा एकता लामो समय टिक्न सकेन ।
पार्टीभित्रको विवाद छताछुल्ल भएसँगै केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरे । त्यसलगत्तै सर्वोच्च अदालतको एउटा फैसलाले नेकपा एकतालाई भंग गरिदिएको थियो ।
प्रचण्ड र ओलीबीच टेलिफोन कुराकानी भएसँगै लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसले फेरि एकपटक वाम एकताको ढोका खुला गरिदिएको नेकपा माओवादी केन्द्रका एक नेताले बताएका छन् ।
टेलिफोनमा उनीहरुबीच फेरि एकपटक वाम एकता गरेर अघि बढ्ने र त्यसका लागि सबैले एकपटक आत्मालोचना गर्ने कुरा भएको स्रोतले दाबी गरेको छ ।
वाम एकताका लागि माओवादी केन्द्र र नेकपा एमालेका दोस्रो तहका नेताहरुको सक्रियता बढिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिको नेपाल भ्रमणपछि झनै कम्युनिष्ट नेताहरुको दौडधुप बाक्लिन थालेको छ ।
वाम एकताका लागि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम, नेकपा एमालेका नेताहरु घनश्याम भूसाल, सुवास नेम्वाङलगायत नेताहरु सक्रिय भइरहेका छन् ।
यस्तो अवस्थामा प्रचण्ड र ओलीबीच टेलिफोनमा कुराकानी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छिमेकी देश चिनले नेकपा एकता भंग हुनेवित्तिकै फेरि वाम एकताका लागि भन्दै नेपालमा सक्रियता बढाएको धेरै भइसक्यो । चिनले आवश्यकता अनुसार विभिन्न चरणमा आफ्ना नेताहरुलाई नेपाल पठाउँदै आएको छ ।