काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा स्थानीय तह चुनावमा बागी उम्मेदवारी दिएकाहरुमाथि लगाईएको कारबाही फुकुवा गर्नुपर्ने माग उठेको छ ।
भरतपुर महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल लगायतको कारबाही फिर्ता गर्नुपर्ने माग बैठकमा उठेको एक नेताले नेप्लिज टाइम्सलाई बताए ।
सोमबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको कमजोरीका कारण भरतपुरमा कार्यकर्ताले उम्मेदवारी दिएको दाबी गरेका छन्।
चुनावमा अरूसँग मिलेर चुनाव लड्ने भनिएको तर स्थानीय आवश्यकता र औचित्यका आधारमा मिलेर लड्ने भन्ने केन्द्रीय समितिको निर्णय रहेकोमा त्यो निर्णयलाई केन्द्रबाटै लत्याइएको उनले बताए ।
कोइरालाले भने, ‘भरतपुर महानगरपालिका हामी एक्लै जित्ने थियौं, स्थानीय निर्णय पनि त्यही थियो तर माओवादी केन्द्रलाई भरतपुरको प्रमुख दिइयो। हामीले भरतपुर गुमाउनुको जिम्मेवारी कसले लिने हो ? त्यो लिनुपर्छ।’
उनले केन्द्रीय समितिले जबर्जस्ती लादेको विषयमा कार्यकर्तालाई कारबाही गर्न नहुने उनले बताए।
स्वतन्त्र उम्मेदवारी दिने, प्रस्तावक, समर्थक बस्नेलाई पार्टीले बोलाएर कुरा गर्नुपर्ने भन्दै उनले निलम्बनमा परेका सबैलाई अविलम्ब निलम्बन फुकुवा गर्नुपर्ने बताए ।
सत्तारूढ गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने घोषणा गरेपछि कांग्रेसभित्र विद्रोह भएको थियो।
असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए। उनलाई पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले प्रस्ताव र महासमिति सदस्य मिना खरेलले समर्थन गरेका थिए।
निर्वाचनमा पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गरेका थिए। पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि पार्टीले उनलाई सघाउने जिल्ला नेताहरूलाई कारबाही गरेको थियो। उम्मेदवार, प्रस्तावक र समर्थक उम्मेदवारी दर्तासँगै कारबाहीमा परेका थिए।