Latest News

मेयर बालेनलाई काठमाडौँ उपत्यकाका सबै नगर प्रमुखहरूको साथ, जनाए यस्तो प्रतिवद्धता

Nepalese Times July 11, 2022 (2 Year ago)    527 Views

काठमाडौं ।

फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौँ उपत्यकाका नगर प्रमुखहरुले बताएका छन् ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज राष्ट्रिय सभा गृहमा बसेको बैठकमा उनीहरुको यस्तो प्रतिवद्धता आएको हो ।

उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बोलाइएको थियो । बैठकको मुख्य विषय दिगो फोहोरमैला व्यवस्थापन थियो ।

वैठक सुरु गर्दै प्रमुख शाहले भने, ‘उपत्यकाका पालिकाहरुमा केही साझा र केही भिन्न समस्याहरु छन् । यीमध्ये फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी वितरणजस्ता साझा समस्याका रुपमा रहेका विषयलाई संयुक्त प्रयासबाट समाधान निकालौँ । साझा समस्यामध्ये फोहोरमैला व्यवस्थापनको विषय आजको छलफलमा मुख्य विषय हो ।’

‘महानगरले काम पनि गरिरहेको छ । नेतृत्व पनि गरिरहेको छ । भोलि पनि यसलाई निरन्तरता दिनेछ ।’ फोहोर व्यवस्थापनका लागि परम्परागत विधिबाट काम थाल्ने विषयमा प्रमुख शाहले भने , ‘घरघरबाट उत्पादन भएको फोहोर स्रोतमै बर्गीकरण गरेपछि जैविक फोहोरलाई मल बनाउने विधि सबैभन्दा उपयुक्त देखिएको छ । यो विधि शतप्रतिशत प्रभावकारी छ । फोहोरलाई ग्याँसका रुपमा रुपान्तरण गर्दा ३० देखि ३५ प्रतिशत मात्र प्रभावकारी देखियो । अर्थात् १ सय रुपैयाँ लगानी गर्दा ३० देखि ३५ रुपैयाँ मात्र फिर्ता आउने भयो । यस्तै विजुली निकाल्दा २० देखि २५ प्रतिशतसम्म मात्र उत्पादन फिर्ता लिन सकिने भयो । जैविक फोहोरलाई मल बनाउन करिब २ सय देखि २ सय ५० रोपनी जग्गा आवश्यक पर्छ । यसका लागि सहकार्य गरौँ ।’

प्रतिक्रिया दिनुहोस