काठमाडौं ।
नेकपा एमालेका १० भाइ नेतामध्ये चार जनाले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेको सातौँ, आठौँ र नवौँ बैठकका निर्णयसहित अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि –४) मा १० मध्येका चार जना नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट, भीम प्रसाद आचार्य र योगेश भट्टराईले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।
भुसालले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने विष्टले ऊर्जा जलश्रोत तथा सिँचाइ, आचार्यले पर्यटन तथा नागरिक उड्डयन र भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
यस्तै एमालेले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा अपेक्षित परिणाम आउन नसक्नुमा चार प्रमुख कारण रहेको औँल्याएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा गत निर्वाचनमा ५ दलीय गठबन्धनको घेराबन्दी र षड्यन्त्रका बाबजुद लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रूपमा स्थापित भए पनि सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु गम्भीर र सोचनीय विषय भएको बताएका छन् ।
अध्यक्ष ओलीले एमालेले लोकप्रिय मत पाउनुको निष्कर्ष जनताको मनमा पार्टीप्रति विश्वास, भरोसा र समर्थन अझ बढिरहेको तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने र निर्वाचन परिणाममा ढाल्ने क्षमतामा गम्भीर समस्या देखापर्नुमा विभिन्न समस्या रहेको उल्लेख गरेका छन् ।
ओलीले स्थानीय निर्वाचनमा प्रमाणित र पुष्टि भएका अन्तरघातहरुमा पार्टीले बिना मोलाहिजा कारबाही गर्ने समेत अपानीमा उल्लेख गरेका छन् । एमालेले २७ विभागमा सचिवसहित सदस्यहरू समेत तोकको छ ।