Latest News

प्रचण्डसमेत छक्क पर्नेगरी धनगढी पुगेर माधव नेपालले गरिदिए यस्तो घोषणा

Nepalese Times July 11, 2022 (2 Year ago)    686 Views

काठमाडौं ।

संसदीय चुनावको मिति घोषणा गर्ने तयारीसँगै वाम एकताको विषयले पनि प्राथमिकता पाउन थालेको छ ।

केही दिनअघि वाम एकताका लागि भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भएको भेटवार्ताले खैलाबैला नै मच्चिएको छ ।

उनीहरुबीच सकेसम्म नेकपा एमालेसँग पनि एकताका लागि प्रयाग गरिने र त्यसो हुन नसके अरु वाम शक्तिहरुबीच एकता गरेर अघि बढ्नेबारे छलफल भएको थियो ।

संचारमाध्यममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावअघि नै एकता गर्नेबारे बहस सुरु भएको खबर बाहिरिएको थियो । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले घनिभुत छलफल अघि बढाएको भनियो ।

तर, धनगढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएको भएपनि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । त्यसतर्फ लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस