काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेपाल पनि श्रीलंकाको बाटोतिर दौडिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
परिवारवादका कारण श्रीलंकामा पछिल्लो घटनाक्रम भएको भन्दै उनले त्यहि परिवारवादकै कारण भारतमा उठ्नै नसक्नेगरी कांग्रेस आई थला परेकोसमेत बताएका छन् ।
सामाजिक संजालमा खतराको घण्टीको रुपमा व्याख्या गर्दै उनले नेपालमा पनि राजनीतिक दलका नेताहरु परिवारवादमा अग्रस। रहेकोले बेलेमा नसच्चिए श्रीलंकाको जस्तै हालत हुने अवस्था आएको बताएका छन् ।
उनले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जस्तो नकारात्मक पर्सेप्सन बनाउने देशघाती कुरा गर्ने तरिकालाई पनि आफूले उचित नठान्ने बताएका छन् ।
पुष्पकमल दाहाल प्रचण्डको परिवारवाद र परिवारतन्त्र (राज्य र पार्टीका नेतृत्व तहमा भाइ, छोरी, ज्वाइँ, बुहारीलाई प्राथमिकता), देउवाको पत्नी र पुत्रमोह (कमिशन र व्यापारमा संरक्षण), माधव नेपालको आफन्त (सम्धी,भाइ, बहिनी र ज्वाईं) मोह हुँदै मोहनविक्रम सिंहको (पत्नी) मोह समेत छर्लङ्ग भएकोसमेत उनले सामाजिक संजालमार्फत भनेका छन् ।
उनले लेखेका छन्, ‘यस्ता मति र व्यवहार पटक्कै ठीक छैनन्। जनतामा असन्तुष्टिको आगो फुक्ने कार्य यिनै केही स्वघोषित अगुवाहरूले गरिरहेको तथ्य स्पष्ट छ ।’
यस्तै उनले लेखेका छन्, ‘गण्डकीका मुख्यमन्त्री र मन्त्रीले राज्यको बजेटबाट गरेको पितृश्राद्द मात्र होइन, राष्ट्रिय जनमोर्चाकी सांसद पियारीको संरक्षकत्वमा उनका पति अध्यक्ष रहेको संस्थालाई दिइएको करोडौं रकम (खासमा एमाले नेतृत्वको प्रदेश सरकार ढाल्न खेलेको भूमिकाको लागि गरेको नगदनारायणको प्रबन्ध) ले लुटतन्त्रको झाँकीझलक देखाइसकेको छ। हरेक व्यक्तिका यस्ता स्वार्थी रवैया जनताको निगरानीबाट टाढा छैनन् ।’
यस्तै तरिका र व्यवहारले व्यक्ति र प्रणालीलाई पतनको बाटोमा पुर्याउने खतरा स्पष्ट देखिएको भन्दै उनले यहाँ ढाकछोप र स्तुतिको तौरतरिका बन्द गरेर सम्बन्धितहरूले सच्चिने इमानदार कोशिस गर्नुपर्ने खाँचो अपरिहार्य रहेको बताएका छन् ।