काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट्न पुगेका छन्। नेम्वाङकै निवासमा खाँण र बन्दी भेट्न पुगेको स्रोतले जानकारी दिएको छ।
गत २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विद्येयक फिर्ता लिने निर्णय गरेको थियो। ०७५ मा तत्कालिन केपी शर्मा ओलीको सरकारले यो विद्येयक संसदमा पुर्याएको थियो।
तर, संसदबाट विधेयक फिर्ता लिने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको थियो। पछिल्लो समय सत्ता गठबन्धनबाटै उक्त विद्येयक फिर्ता लिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढेको थियो।
विधेयक पास गर्नुपर्ने बेलामा फिर्ता लिने निर्णय गलत भएको एमालेले बताएको छ। त्यसलगत्तै, एमाले नेता नेम्वाङसँग भेट्न उनकै निवास पुगेको स्रोतले जानकारी दिएको छ। नेम्वाङसँग सो विधेयकका बारेमा छलफल गर्ने स्रोतले जानकारी दिएको छ।
‘तपाईँहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसद्मा पेस गरेका छौँ । पास गर्नलाई छलफल गरौँ, भन्नुभयो,’ भेटमा भएको कुराकानीबारे नेम्वाङले भने, ‘मैले ठिक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो । हामी नागरिकता विधेयकमा सकारात्मक नै छौ । विधेयकमा के के विषय समेटिएका छन्, त्यो हेर्छौ भने ।’
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्नेछ । विधेयक पास भएमा नागरिकता नपाएका युवाहरू लाखौँ युवाले नागरिकता पाउनेछन् । ती युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पुर्याउने अपेक्षा सरकारको छ ।
नेपालको संविधान २०७२ ले गैर आवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिकबाहेकका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।