Latest News

केपी ओली र झलनाथ खनालबीचको संवादहिनता तोडियो, के-के भयो कुराकानी ?

Nepalese Times July 10, 2022 (1 Year ago)    459 Views

काठमाडौं ।

एकीकृत समाजवादीको मूल नीति ‘संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि अहिलेकै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ’ भन्ने छ । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अबको निर्वाचनमा वाम शक्तिबीच सहकार्य र ध्रुवीकरणका पक्षमा देखिएका छन् ।

एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालभित्र प्रतिशोधपूर्ण आरोप–प्रत्यारोप जारी छ । तर, ओली र खनालबीच एक–अर्काप्रति नकारात्मक टिप्पणी नभएको धेरै भएको छ । अर्थात् दुवै नेता एक–अर्काप्रति ‘नरम’ छन् ।

गत ४ असारमा इलामको जिल्ला समन्वय समिति निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता खनालको गृहजिल्लामा जिल्ला समन्वय समिति प्रमुखमा एमालेका जयप्रकाश राई र उपप्रमुखमा एकीकृत समाजवादीकी चित्रकला बराइली निर्वाचित भएका थिए ।

झलनाथ खनालले भने–ओली कमरेडसँग केहीबेर जम्काभेट वार्ता भयो, त्यसक्रममा हामीले केहीबेर सौहार्दपूर्ण कुराकानी गर्‍यौँ । उहाँले कुराकानी गर्न मन लाग्दैन भन्नुभो ? मैले मन लागेको छ भनेँ । त्यसो भए थप छलफलका लागि टेलिफोनबाटै कुराकानी गरौँ न त भन्ने समझदारी भएको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएको गुनासो गर्दै आएका नेता खनालले समन्वय समिति निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए । कांग्रेस नेताहरूले खनालले आफ्नै जिल्लामा गठबन्धन तोडेको र आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् । त्यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

शुक्रबारको संसद् बैठकबाट खनाल बाहिरिँदै गर्दा बैठकस्थल प्रवेशका लागि ओली संसद् भवन परिसरमा गाडीबाट ओर्लिएका थिए । त्यहीक्रममा उनीहरूबीच करिब दुई मिनेट जम्काभेट वार्ता भएको थियो । खनालले ओलीसँग धेरै लामो समयपछि त्यसरी जम्काभेट वार्ता भएको सुनाए ।

संस्थागत रूपमा एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध छ । तर, माथिल्ला घटनाक्रमले भने एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका सम्मानित नेता खनाल नजिकिँदै गएको देखाउँछ । यतिसम्म कि ओली र खनालबीच औपचारिक भेटवार्ताको गृहकार्य भइरहेको छ । स्रोतका अनुसार आगामी निर्वाचनमा सहकार्यलाई लिएर ओली र खनालबीच अनौपचारिक रूपमा केही चरण संवाद पनि भएका छन् ।

एमाले विभाजनको साढे दश महिनापछिको संवादहीनताको अवस्था तोड्दै ओली र खनाल सहकार्यको सम्भावना खोजीका लागि आपसी छलफल गर्न तयार देखिएका हुन् । शुक्रबार संसद् भवन परिसरमा एमाले अध्यक्ष ओलीसँगको जम्काभेट वार्तामा थप छलफल गर्ने विषयमा सकारात्मक कुराकानी भएको खनालले जानकारी दिए ।

आपसमा हालखबर र स्वास्थ्य अवस्थाबारे कुराकानीपछि आफूहरूबीच थप छलफलका लागि टेलिफोन संवाद गर्ने समझदारी बनेको उनको भनाइ छ । ‘ओली कमरेडसँग केहीबेर जम्काभेट वार्ता भयो, त्यसक्रममा हामीले केहीबेर सौहार्दपूर्ण कुराकानी गर्‍यौँ,’ खनालले  भने, ‘उहाँले कुराकानी गर्न मन लाग्दैन भन्नुभो ? मैले मन लागेको छ भनेँ । त्यसो भए थप छलफलका लागि टेलिफोनबाटै कुराकानी गरौँ न त भन्ने समझदारी भएको छ ।’

भेटमा दुवै नेता आपसी छलफलका लागि तयार भएका छन् । ‘मैले जम्काभेट पो भयो भनेको थिएँ । उहाँले पनि भयो त भन्नुभो । एक अर्काले के छ हालखबर भनेर सोधियो । ठीकठाक छ भन्ने भएपछि उहाँले मेरो स्वास्थ्यबारे चासो राख्नुभो, मैले पनि उहाँको स्वास्थ्य अवस्थाबारे चासो राखेँ,’ खनालले भने, ‘अरू सबै ठीकै छ भन्ने कुरा भएपछि टेलिफोनबाटै थप छलफल गरौँला भन्यौँ ।’ शनिबार साँझसम्म ओलीसँग टेलिफोन संवाद नभएको खनालले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस