Latest News

नेपालमा पनि ‘नाइरोबी फ्लाइ’ का संक्रमित पुष्टि, यस्तो औषधि चलाउन थालियो

Nepalese Times July 8, 2022 (1 Year ago)    644 Views

काठमाडौं । झापाको तीन पालिकामा ‘नाइरोबी फ्लाइ’बाट संक्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ ।

बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का संक्रमित आएको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालन गरिरहेका स्वास्थ्य सहायक कलम निरौलाले जानकारी दिए ।

‘एक हप्ता जति भयो, शरीरका विभिन्न अंगमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको,’ उनले भने, ‘बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ ।’

उनले त्यस्तो समस्या लिएर आएका बिरामीलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँने गरेको बताएका छन् । उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ ।

स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको उनले बताए । विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिए । एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको उनले बताए ।

स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्यचौकीमा नाइरोवीका बिरामी नआएको जनाएको छ ।

कार्यालयका तथ्यांक अधिकृत चूडामणि लुइँटेलले औषधि व्यवसायीले सो किराबाट पीडित बनेका बिरामी आउने गरेको जानकारी दिए पनि आधिकारिक स्वास्थ्य कार्यालयमा बुझ्दा कतै पनि बिरामी फेला नपरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस