काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे । शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।
संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए ।
उनले स्थापित मूल्य, मान्यता, विधि,पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे । उनले भने,‘ मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु सत्यतथ्य जनतासमक्ष आउँछ । मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ ।
छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’
अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिन पछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे ।
शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ। संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट चार जना सांसद रहनेछन्।
नेपाली कांग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट दुई सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक/एक जना सदस्य गरी कूल ११ सदस्यीय संसदीय छानबिन गठन गर्ने सहमति भएको हो।
संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् ।