काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष्ँ मुकुन्द रिजालले नगरसभा बैठकमा लोकप्रिय प्रस्ताव अघि सारेका छन् ।
काठमाडौंका भाइरल वडाध्यक्षको रुपमा परिचित उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका हुन् ।
एक वडाध्यक्षले जनप्रतिनिधहरुलाई ड्रेस र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेपछि उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
आफूहरु लोकसेवा लडेर जागिर खान आएको नभई आफ्नो इच्छाले जनताको सेवा गर्न आएका भन्दै उनले आफूहरुलाई कुनै तलब–सुविधा नचाहिन बताए ।
आफूहरुको सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुने उनले प्रस्ताव गरे । उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५–६० लाख खर्च हुने उल्लेख गरे ।
रिजालले थपे, ‘हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन । हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।’
त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए । यो रकमबाट महत्त्वपूर्ण विकास आयोजना सम्पन्न हुन सक्ने उनको भनाइ छ ।