काठमाडौं ।
प्रतिनिधि सभा निर्वाचन अघि नै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना बढेको छ । एकताका लागि प्रभावशाली नेताहरु नै भित्र भित्र लागेका छन् ।
एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् ।
वामदेव गौतमले पनि अभियान चलाएका छन् । उनीनिकटस्थहरु पनि मध्यस्थकर्ता भएर एमाले र एसका नेताबीच भेट गराइरहेका छन् ।
एससँग एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि लचिलो बनेको बुझिएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार बचाउन ओलीले निर्देशन दिइसकेको बुझिएको छ । महेश बस्नेत यसमा लागिसकेका छन् । यसले एमाले र एसबीच एकताको माहोल तयार भइरहेको बुझिएको छ ।
माधव नेपालमाथि पनि एमालेसँग एकता गर्न दबाब बढेको छ । हालै मन्त्रीबाट हटेका चारजना सांसद पनि एमालेसँग एकताका लागि सक्रियता बढाउन थालेका छन् ।
यसैगरी, नेकपा एमाले र एसबीच एकता बनाउन ठूलै शक्तिकेन्द्र लागेको बुझिएको छ । सकभर कम्युनिस्ट एकता गराउने नभए एमालेमा भएपनि एकता बनाउने रणनीतिमा लागेको बुझिएको छ ।
उता, तत्कालिन नेपाल कम्युनिस्ट पार्टी नेकपाका पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलनलगायत विषयमा छलफल भएको छ ।
यस्तै उनीहरुबीच नेपाली कांग्रेस संगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनीहरुबीच छलफललाई निरन्तरता दिने समझदारी पनि भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
तत्कालिन नेकपामा ९ सदस्यीय सचिवालय समितिमा थियो । जसमा यी पाँच नेताबाहेक केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल पनि थिए ।