Latest News

आईजीपी प्रकरणः सर्वोच्च अदालतमा आज के–के भयो ?

Nepalese Times July 3, 2022 (2 Year ago)    551 Views

काठमाडौं । नेपाल प्रहरीका प्रमुख (आईजीपी) मा धिरजप्रताप सिंहलाई गरेको नियुक्तिविरुद्ध एआईजी दायर भएको रिटमा आइतबार पनि बहस भएको छ।

विश्व पोखरेलले दायर गरेको रिटमा आज पनि बहस भएको हो । आईजीपी सिंहको पक्षका वकिलहरुले सर्वोच्च अदालतमा आइतबार बहस गरेका हुन्।

वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिँडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका हुन्।

आज बहस गर्ने अन्य अधिवक्तामा केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारी पनि थिए।

उनीहरुले आईजीपीमा सिंहलाई बढुवा गर्ने निर्णयको बचाउ गर्दै पोखरेल आईजीपी हुनलायक नै नरहेको बताएका थिए। योसँगै आईजीपीका १९ वकिलको बहस सकिएको छ। अब २३ गतेभित्र बहस नोट बुझाउनुपर्ने इजलासले भनेको छ। त्यसपछि २६ गते जवाफी बहस हुनेछ भने त्यही दिन फैसला आउनेछ।

आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको मागअनुसार अन्तरिम आदेश त दिएन, तर छिटो सुनुवाइ गर्ने आदेश भने जारी गरेको थियो।

आइतबार आईजी सिंहको बढुवाको पक्षमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले लामो बहस गरेका छन्। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भएको बहसमा आचार्यले एआईजीमा वरिष्ठ हुँदैमा कोही पनि आईजीपी हुन्छ भन्ने ग्यारेन्टी नहुने तर्क गरे।

एआईजीमाथि न्यूनतम सेवा अवधि लागू नहुने तर्क गर्दै वरिष्ठ अधिवक्ता आचार्यले भने, ‘एआईजीमा जो सिनियर भयो त्यो आईजी हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।’

वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्व पोखरेल आईजीपी हुनलायकको नरहेको बताएका छन्। आइतबार सर्वोच्च अदालतमा बहसका क्रममा उनले पोखरेललाई गैरजिम्मेवार र व्यक्तिकेन्द्रित भएको बताएका हुन्। पोखरेल आफैँले चुनावअघि कसैलाई पनि विदा नदिने भनेर सर्कुलर गरे पनि १९ गतेदेखि आफैँ घरविदामा बसेको वरिष्ठ अधिवक्ता पन्तले बताए।

प्रतिक्रिया दिनुहोस