काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही गर्ने भएको छ ।
नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथि थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ ।
उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।
ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकाले थप कारवाही गर्न प्रक्रिया सुरु भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताएका छन् ।
घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् । सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ भन्दै उनले भने, ‘कारबाही नगरेर नमस्कार गर्नु त ?’
नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे,’आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’
कारवाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने नगर प्ररही प्रमुख सापकोटाले तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ ।
फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारबाही गरिरहेको भन्दै सपकोटाले निरन्तर भइरहने पनि बताएका छन् । नगर प्रहरीको काम नै फुटपाथ, सडक व्यवस्थापन गर्ने भएकोले अन्य टिप्पणी गर्न आवश्यक नरहेको उनले बताए ।
नगर प्रहरीका सब इन्स्पेक्टर (सई) राजन श्रेष्ठमाथि दम्पत्तिले ५ हजार घुस मागेको भनेर लगाएको आरोपबारे महानगरपालिका भने मौन छ ।