काठमाडौं ।
बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे र एमालेका नेता महेश बस्नेतबीच मध्यरातमा भेटवार्ता भएको छ । शुक्रबार राति उनीहरुबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री पाण्डेलाई हटाउने खेल भएसँगै भएको भेटवार्ताले गठबन्धनमा एउटा तरंग पैदा गरेको छ ।
गठबन्धन दलहरुको सहमति अनुसार बजेट पछि राजेन्द्र पाण्डेले मुख्यमन्त्री नछाडेको भन्दै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् । त्यसपछि तालिएको बागमती प्रदेशको राजनीति पाण्डे र बस्नेत बीचको भेटले झनै तरंगित बनेको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटी आफूले कुनै हालतमा मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका पाण्डेले एमालेको साथका लागि बस्नेतलाई भेटेका हुन् । समाजवादीलाई एमालेले मात्रै साथ दिएपनि पाण्डे सरकार बहुमतमा हुनेछ ।
नेपाली काँग्रेसका बागमती प्रदेशका सभापति समेत रहेका प्रदेश सांसद इन्द्र बानियाँका लागि मुख्यमन्त्री छाड्ने दबाब पाण्डे माथि थियो ।
बागमती प्रदेश सरकार बन्दा पाण्डे र बानियाँ आधा आधा अवधि मुख्यमन्त्री बन्ने भद्र सहमति थियो । तर, पाण्डे अहिले आएर बदलिएका छन् । उनले एमालेको साथ लिएर भएपनि सत्ता टिकाउने रणनीति बनाएका छन् ।
एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् । वामदेव गौतमले पनि अभियान चलाएका छन् । उनीनिकटस्थहरु पनि मध्यस्थकर्ता भएर एमाले र एसका नेताबीच भेट गराइरहेका छन् ।
एससँग एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि लचिलो बनेको बुझिएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार बचाउन ओलीले निर्देशन दिइसकेको बुझिएको छ ।
महेश बस्नेत यसमा लागिसकेका छन् । यसले एमाले र एसबीच एकताको माहोल तयार भइरहेको बुझिएको छ । माधव नेपालमाथि पनि एमालेसँग एकता गर्न दबाब बढेको छ । हालै मन्त्रीबाट हटेका चारजना सांसद पनि एमालेसँग एकताका लागि सक्रियता बढाउन थालेका छन् ।