Latest News

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

Nepalese Times July 3, 2022 (2 Year ago)    599 Views

काठमाडौं ।

सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक शनिवार नै बस्ने भनिएको थियो । उनीहरु काठमाडौं बाहिर गएकाले आज बस्न लागिएको गठबन्धनका एक नेताले बताए ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागिएको हो । बैठकको समय भने तय भएको छैन । सम्भवतः दिउँसो ३ बजेतिर बैठक बस्ने सम्भावना रहेको तर अहिले नै समय भने तय नभएको स्रोतले जनाएको छ ।

आज बस्ने सत्ता गठबन्धनको बैठकमा वागमती प्रदेश सरकार परिवर्तनबारे छलफल हुनेछ । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री रहेका छन् ।

बजेट पास भएपछि पाण्डेले मुख्यमन्त्री पद छाड्ने र नेपाली कांग्रेसका ईन्द्र बहादुर बानियाँले मुख्यमन्त्री पद सम्हाल्ने पूर्व सहमति रहेकोले सहमति अनुसार नै अघि बढ्नुपर्ने कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको भनाइ छ ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले मुख्यमन्त्री पद छाड्ने अटेरी गरे अविस्वासको प्रस्ताव ल्याउने भन्दै त्यसको लागि हस्ताक्षर अभियानसमेत सुरु गरेका छन् । तर, पाण्डे भने मुख्यमन्त्री पद छाड्न तयार छैनन् ।

शनिवार बसेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल मुख्यमन्त्री पदबाट राजेन्द्र पाण्डे नहट्ने निर्णय गरेको थियो ।

प्रदेश सरकार परिवर्तन हुने या नहुँने भन्नेबारे केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यसै अनुसार कार्यन्वयन हुँने भन्दै ती नेताले अहिले एकीकृत समाजवादी नेतृत्वको सरकार परिवर्तन गर्ने कुरा नै नरहेको बताए ।

विश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास हुनसक्छ । पाण्डेको सरकारलाई नेकपा एमालेले समर्थन गरिदियो भने बागमतीमा गठबन्धमै धक्का लाग्न सक्छ ।

यसकारण पनि काँग्रेसले बागमती प्रदेशको सरकारमा विगतको सहमति अनुसार पाण्डेलाई छाड्न लगाउन खोजिरहेको छ । माधवकुमार नेपालनिकट मानिने पाण्डे पछिल्लो समय फरक तरिकाले सक्रिय भएका छन् । उनी वाम एकताको पक्षमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस