Latest News

के तपाईंको बेडरुमका कुरा गुगलले सुन्छ ?

Nepalese Times July 3, 2022 (1 Year ago)    1402 Views

के गुगलले तपाईंका कुरा सुन्दछ ?

उसो त गुगलमा आवाज सुनेर सोही बमोजिम कार्य गर्ने भ्वाइस असिस्टेन्ट फिचर पनि हुन्छ । जसलाई तपाईं Ok Google बोलेर एक्टिभेट गर्न सक्नुहुन्छ ।

तपाईं आफ्नो स्मार्टफोनमा माइक्रोफोनको आइकनमा क्लिक गरेर पनि गुगल भ्वाइस सर्चको प्रयोग गर्न सक्नुहुन्छ । तर केही प्रयोगकर्ताहरू भने यी सबै नगरेरै पनि गुगलले आफ्ना कुराहरू सुन्ने गरेको गुनासो गर्दछन् ।

के गुगलले तपाईंका गोप्य कुरा सुन्दछ ?

मानौं कुनै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आफ्नो साथीसँग नयाँ कार खरिद गर्ने विषयमा कुराकानी गरेको हुन्छ । अनौठो त के भने अर्को दिन उसको स्मार्टफोनमा इन्टरनेट ब्राउजर तथा फेसबुकमा पनि गाडीहरूका विज्ञापन धेरै देखिन थाल्दछन् ।

यस प्रकारका आशंका र आरोप प्रविधि कम्पनीहरूमाथि धेरै पटक लाग्ने गरेका छन् । सन् २०१६ मा बीबीसीका संवाददाता जो क्लेनम्यानले त्यस्तैखाले घटना भोगको दाबी गरेका थिए ।

कसरी आफूले आफ्नो एकजना साथी कार दुर्घटनामा मारिएको कुरा गरेको र लगत्तै त्यस बारेमा विस्तृत जानकारीहरू आफ्नो मोबाइलको गुगलमा पनि देखिएको उनले उल्लेख गरेका थिए ।

हुनत यस्ता खालका घटनाहरू धेरै हुने गरेका छन् । हरेक दिन कोही न कोही प्रयोगकर्ताहरूले यस्तो अनुभव गर्ने गरेका छन् । त्यसैले गुगलले आफ्ना कुराहरू सुनिरहेको उनीहरूको गुनासो हुन्छ ।

आफूले कुनै विषयमा छलफल गरेसँगै त्यहीँ विषयका विज्ञापन गुगलले देखाउने गरेको हुन्छ । के यो फगत एक संयोग हो वा गुगलले वास्तवमै हाम्रा कुराहरू सुनिरहेको हुन्छ ?

अब के गर्ने ?

यसरी आफूले कुराकानी गरेकै विषयका विज्ञापन गुगलमा देखिनु संयोग हुनसक्दछ । गुगल प्राइभेसी पोलिसीका अनुसार प्रयोगकर्ताको अनुुमतिविना कम्पनीले हाम्रा कुराकानीहरु रेकर्ड गर्दैन । गुगल तथा फेसबुक दुबै कम्पनीहरूले उनीहरूले प्रयोगकर्ताहरूको स्मार्टफोनको माइक्रोफोन प्रयोग गरेर गोप्य रुपमा प्रयोगकर्ताका जानकारीहरू एकत्रित नगर्ने प्रष्ट पारिसकेका छन् । तर फेसबुक तथा गुगल जस्ता कम्पनीहरुले विज्ञापनिक प्रयोजनका लागि प्रयोगकर्ताका आवश्यकताहरू पहिचान गर्न चाहने कुरा त हामीलाई थाहै छ ।

त्यसैले यदि तपाईंलाई गुगलप्रति शंका छ र तपाईंका बेडरुमका कुरासमेत गुगलले सुनिरहेको हुन्छ भन्ने लाग्दछ भने आफ्नो जीवनलाई गुगल मुक्त गर्न सक्नुहुनछ । यसका लागि तपाईंले DuckDuckGo लगायतका अन्य यस्ता ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंलाई ट्रयाक गर्दैनन् । यसमध्येको अर्को सुरक्षित ब्राउजर Brave पनि हो । यी ब्राउजरमा कुनै विज्ञापन देखिँदैन ।

कुराकानी गरेको विषयका विज्ञापन किन देखिन्छन् गुगल, फेसबुकमा ?

फेसबुकका अनुसार माइक्रोफोन डाटाको आधारमा विज्ञापन देखाउने कार्यमा उसले विज्ञापनदाताहरूमाथि बन्देज नै लगाएको छ । गुगलको दाबी पनि त्यहीँ नै छ । तर यति हुँदाहुँदै पनि स्मार्टफोन प्रयोगकर्ताले गरेका कुराकानीकै विषयमा विज्ञापनहरू आकस्मिक ढंगले किन ब्राउजरमा देखिन्छन् ? सम्भवतः डिभाइस सिंकका कारण यस्तो भएको हुनसक्ने विज्ञहरू बताउँछन् ।

किनकि हामीले विभिन्न डिभाइसमा आफ्नो एउटै अकाउन्ट प्रयोग गरिरहेका हुनसक्छौं । यस्तोमा कुनै एक डिभाइसमा हामीले कुराकानी गरिरहेकै विषयमा अगाडि नै डिटेल सर्च गरेका हुनसक्दछौं । सोही अनुसार हाम्रो स्मार्टफोनमा उक्त विषयका विज्ञापन देखा परेका हुनसक्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस