काठमाडौं ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको पद यथावत रहेको प्रचार विभाग प्रमुख एवं सचिवालय सदस्य निमकान्त पाण्डेले बताएका छन्।
सञ्चारमाध्यममा वामदेव गौतमलाई निष्काशन गरेको समाचारमा सत्यता नरहेको उनको भनाइ छ। उनले सचिवालय सदस्य युवराज सफलले असार १६ गते राजीनामा दिएको र शुक्रबार गौतमकै अध्यक्षतामा बसेको बैठकले राजीनामा स्वीकृत गरेको बताए।
‘नेकपा एकता राष्ट्रिय अभियानका ९ जना सचिवालय सदस्यहरुमध्ये १ जना सदस्य युवराज सफलले असार १६ गते सचिवालय सदस्यबाट राजीनामा गर्नुभएको र उहाँको राजीनामा सम्बन्धमा असार १७ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकमा छलफल भई राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको हो,’ पाण्डेले विज्ञप्ति जारी गर्दै भनेका छन्।
यसअघि सो अभियानमा आबद्ध पार्टीहरुले संयोजक गौतमलाई पाँच बुँदे असहमित जनाउँदै संयोजकबाट निष्काशन गरेको र नयाँ संयोजकमा युवराज सफललाई जिम्मेवारी तोकेको दाबी गरिएको थियो।
अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिएका थिए ।
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो ।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।
शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरिएको थियो ।
जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।